Sagun Khabar
सतबाँझ–श्रीभावर सडक स्तरोन्नती कार्य : नयाँ कटिङ प्राथमिकतामा 

बैतडी –सतबाँझ–श्रीभावर सडक स्तरोन्नती कार्य अन्तर्गत नयाँ कटिङको कामलाई प्राथमिकतामा राख्न सम्बन्धित निर्माण कम्पनीलाई आग्रह गरिएको छ । 

पूर्वाधार विकास कार्यालय बैतडीले सडक स्तरोन्नतीको ठेक्का पाएको जागृति–टक्सार–मुनाल जेभी काठमाण्डौंलाई पत्र लेख्दै सुर्नया गाउँपालिकाको वडा नं ७ पत्थरकोट र वडा नं ८ कठमडालाई जोड्ने सडकखण्डको नयाँ कटिङ प्राथमिकतामा राख्न आग्रह गरेको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

सुर्नया गाउँपालिका र स्थानीयबासीको माग अनुसार नयाँ कटिङ कार्यलाई प्राथमिकतामा राख्न आग्रह गरिएको पूर्वाधार विकास कार्यालयले लेखेको पत्रमा उल्लेख गरिएको छ । 

प्रदेश गौरवको योजनाको रुपमा रहेको सतबाँझ–श्रीभावर–हाट –दार्चुला सडक अन्तर्गत थप २० किलोमिटर स्तरोन्नतीको काम अघि बढीरहेको छ । सो कार्य अन्तर्गत नयाँ कटिङको कामलाई प्राथमिकतामा राख्न आफूहरुले आग्रह गरेको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । 

निर्माण कम्पनीले कठेगौंडादेखि डबल कटिङको काम शुरु गरेको भएपनि अब नयाँ कटिङलाई प्राथमिकता दिने अध्यक्ष कुँवरले बताए । उनले भने ‘वडा नं ७ र ८ का स्थानीयहरुको माग अनुसार सडकको जोड्ने बाँकी रहेको भागलाई जोड्ने कामलाई प्राथमिकता दिने सहमति भएको छ । सोही अनुसार काम अघि बढ्नेछ ।’

सतबाँझ–श्रीभावर सडक अन्तर्गत थप २० किलोमिटर स्तरोन्नती गर्न १२ करोडमा ठेक्का सम्झौता भएको छ । आगामी ३६ महिनाभित्र सक्ने लक्ष्यसहित काम शुरु भएको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ । 

सदरमुकाम जोड्ने छोटो मार्गको रुपमा रहेको यो सडकलाई झुलाघाट नाका जोड्ने सहजमार्गको रुपमा समेत लिइएको छ । सडक निर्माण सम्पन्न भएमा यो सडकबाट बैतडीमात्रै नभएर बझाङका नागरिक समेत लाभान्वित हुने बताइएको छ । 

सतबाँझ–श्रीभावर सडक निर्माण कार्य सम्पन्न भएमा बैतडीको पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिक बढी लाभान्वित हुनेछन् भने बझाङबाट बैतडी पुग्ने नागरिकहरुलाई समेत सहज हुनेछ ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update