Sagun Khabar
बिडिसिए कप क्रिकेट : दशरथचन्द एकेडेमीको विजयी शुरूवात

बैतडी –बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा आजदेखि समूह सि का खेल शुरू भएका छन् । 

समूह सि को पहिलो खेलमा दशरथचन्द एकेडेमीले ग्वाल्लेक क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको छ ।

जितका लागि पाएको १३४ रनको लक्ष्य एकेडेमीले १९. ४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। जसमा सुदीप टमाटाले अर्धशतकीय पारी खेले। म्यान अफ द म्याच भएका सुदीप ५६ बलमा ११ चौकाको मद्दतमा ५९ रनमा अविजित रहे। ग्वाल्लेकका तर्कराज जोशीले २ विकेट हात पारे । 

स्वास्थ्य सन्देश
Atrya hospital

यसअघि दशरथचन्द खेलमैदान,सुन्दरखालीमा टस जितेर ब्याटिङ गरेको ग्वाल्लेक २९.३ ओभरमा १३३ रनमा समेटियो । उसका महेशराज जोशीले ४१ र हेमराज जोशीले अविजित २९ रनको पारी खेले।एकेडेमीका लागि अनुराग चन्दले ४ विकेट झारे । 

समूह ए बाट एनआरवाइसी बठ्ठा र समूह बी बाट निङ्गलाशैनी क्रिकेट क्लब सेमिफाइनलमा पुगिसकेका छन् । 

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टोलीको सहभागीता रहेको छ ।

प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिए । यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।

विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले बताए । प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।

प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ । यसअघि १९ औं संस्करणको उपाधि पञ्चकोटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङलाशैनी क्रिकेट क्लबले हात पारेको थियो ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update