Sagun Khabar
परम्परागत सीपलाई व्यवसायिक बनाउन तालिम, अनुदान पनि दिइने 

बैतडी–बैतडीमा दलित समुदायका परम्परागत सीपलाई व्यवसायिक बनाउन तालिम दिन थालिएको छ । सामाजिक विकास कार्यालय बैतडीले परम्परागत सीपलाई व्यवसायिक बनाउनका लागि सात दिने तालिमको आयोजना गरेको सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शंकरदत्त जोशीले बताए । 

जिल्लाका १० ओटै स्थानीय तहबाट २० जनालाई छनौट गरेर तालिम सञ्चालन भइरहेको छ । प्रत्येक पालिकाबाट दुई÷दुई जना छनौट गरेर तालिम सञ्चालन भइरहेको कार्यालय प्रमुख जोशीले बताए । 

खास गरेर आरन तथा सिलाईकटाई पेशामा आवद्ध दलित समुदायका नागरिकहरुलाई तालिममा सहभागी गराइएको छ । उनीहरुलाई प्रयोगात्मक हिसाबले ज्ञान दिने गरिएको कार्यालय प्रमुख जोशीले बताए । 

तालिममा सहभागी भएकाहरुलाई कार्यालयले २० हजारका दरले अनुदान समेत दिने कार्यालय प्रमुख जोशीले बताए । 
तालिम सकिएपछि सहभागीहरुको व्यवसायलाई अगाडि बढाउन सहज होस भनेर अनुदानको व्यवस्था गरिएको छ । जोशीले भने ‘हामीले तालिमका सहभागीहरुको खातामा अनुदान रकम दिन्छौं । उनीहरुको पेशा÷व्यवसायलाई अगाडि बढाउन सहज होस भन्ने हाम्रो चाहना छ । अनुदान दिएपछि सदुपयोग भए÷नभएको बारेमा अनुगमन गर्छौं ।’

तालिमले आफूहरुलाई व्यवसायमा लाग्न प्रेरणा मिलेको तालिमका सहभागी मेलौलीका करन दयालले बताए । तालिमका साथै अनुदान समेत पाइने भएकाले आफूलाई व्यवसायिक रुपमा आरन पेशालाई अगाडि बढाउन सहज हुने उनले बताए । उनले भने ‘हाम्रो परम्परागत सीपलाई व्यवसायिक बनाउनका लागि तालिमले सहज भएको छ । यसले हाम्रो जिविकोपार्जनमा टेवा पुग्ने हामीले विश्वास गरेका छौं ।’

तालिमले नयाँ कुराहरुको ज्ञान भइरहेकाले आफूलाई व्यवसायिक बन्न सहज हुने तालिमका अर्का सहभागी गोपाल दयालले बताए । आरन व्यवसायलाई व्यवस्थित बनाउन तालिमले सहयोग पुर्याउने उनले बताए । तालिमका साथै अनुदान समेत पाइने भएकाले आरन व्यवसायका लागि आवश्यक उपकरण खरीदमा सहयोग पुग्ने दयालले बताए । उनले भने ‘आरन व्यवसायका लागि यो तालिम निकै महत्वपूर्ण । तालिमबाट हामीहरुले धेरै कुरा सिकिरहेका छौं ।’

यस्तै तालिममा सिलाई कटाई व्यवसायमा लागेकाहरुको समेत सहभागिता रहेको छ । तालिमले आफूहरुलाई आफ्नो पेशालाई व्यवस्थित बनाउन सहयोग मिलेको तालिमकी सहभागी गीता पार्कीले बताइन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update