Sagun Khabar
बैतडीको सुर्नयामा धारिलो हतियार प्रयोग गरी एक महिलाको बिभत्स हत्या 

बैतडी –बैतडीमा धारिलो हतियार प्रयोग गरेर एक महिलाको बिभत्स हत्या गरिएको छ । सुर्नया गाउँपालिका – ३ बिजुलका अन्दाजी ३२ बर्षीय तेजबहादुर चन्दले सोही ठाउँकी अन्दाजी ५६ बर्षीया हरिना बिष्टको धारिलो हतियार प्रयोग गरि हत्या गरेका हुन् । 

चन्दले मंगलबार दिउँसो घरमै पुगेर बिष्टको सब्बल, हसिया लगायतका हतियारको प्रयोग गरेर हत्या गरेका स्थानीय भुवन भट्टले जानकारी दिए । बिष्टको शव क्षतविक्षत अवस्थामा घरको ढोकामा रहेको छ । 

इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले चन्दलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । चन्दले दिउँसै महिलाको हत्या गरेर बितण्डा मच्चाएपछि स्थानीयबासीहरु त्रसित बनेका थिए । स्थानीयबासीहरुले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । 

मानसिक सन्तुलन ठीक नभएका भनिएका चन्दले बिष्टको हत्या गर्नुका साथै उनको गोठमा रहेका दुई बाख्रा समेत मारिदिएका छन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए । 

चन्दले गत बर्ष समेत बिजुल गाउँमै पशुचौपाया मारेका थिए । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update