Sagun Khabar
महाकाली करिडोरको कञ्चनपुर–डडेल्धुरा खण्डको ट्रयाक खुल्यो

डडेल्धुरा –महाकाली करिडोर भएर डडेल्धुरादेखि कञ्चनपुरसम्म आवतजावत गर्न सकिने भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको सिमल्टासम्म ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । भएसंगै करिडोरको डडेल्धुरा–कञ्चनपुर खण्डमा मोटर चलेको हो । करिडोरअन्तर्गत ब्रह्मदेवदेखि डडेल्धुराको करालीसम्म १५ किलोमिटर ट्याक खोल्ने जिम्मा दिवा÷शनिदेव जेभीले पाएको थियो । 

०७८ असार २८ गते ठेक्का सम्झौता भएकोमा सोमबार ट्रयाक खोल्ने काम सम्पन्न भएपछि मोटर चलेको हो । महाकाली करिडोरका योजना प्रमुख लक्ष्मणदत्त जोशीले १५ किलोमिटर ट्रयाक खोल्ने काम सम्पन्न भएसंगै अब ब्रह्मदेवदेखि डडेल्धुराको सिमल्टासम्म ३८ किलोमिटर सडकमा मोटर चलेको जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

महाकाली करिडोरअन्तर्गत डडेल्धुरामा मात्रै अझै ३१ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको योजना प्रमुख जोशीले बताए । भागेश्वर गाउँपालिका क्षेत्रमा कोरीडोर अन्तर्गत पर्ने क्षेत्रमा रुख कटानको आदेश आएकाले अब काम अघि बढ्ने उनले बताए । 

महाकाली करिडोरमार्फत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी र दार्चुलाको तिंकर जोड्ने योजना छ । ब्रह्मदेवदेखि तिंकरसम्म ४ सय १३ किलोमिटर रहेकोमा ब्रह्मदेवदेखि दार्चुलाको तुसरपानीसम्म ३ सय ३४ किलोमिटर सडक महाकाली करिडोरको योजना कार्यालय र त्यहाँदेखि तिंकरसम्म ७९ किलोमिटर नेपाली सेनाले बनाउने जिम्मा पाएको छ ।

योजना कार्यालयले जिम्मा पाएको ३ सय ३४ किलोमिटरमध्ये २ सय ३१ किलोमिटर ट्रयाक खोल्ने काम सम्पन्न भएको योजना प्रमुख जोशीले बताए । ३२ किलोमिटर दार्चुला र ५ किलोमिटर डडेल्धुरा गरि ३७ किलोमिटर कालोपत्रे गर्न एउटा ठेक्का चालु रहेको छ भने बाँकी १६ वटा ट्रयाक निर्माणका लागि ठेक्का चालू अवस्थामा रहेका छन् । 

महाकाली करिडोर निर्माणका लागि गत आर्थिक वर्षमा ५४ करोड खर्च भएको थियो भने यो वर्ष संघीय सरकारले २९ करोड ६० लाख बजेट विनियोजन गरेको योजना कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update