Sagun Khabar
महिलाको हत्या भएपछि बैतडीको बिजुल गाउँ शोकमा डुब्यो 

बैतडी –घरमै काम गरिरहेकी महिलाको हत्या भएपछि बैतडीको बिजुल गाउँ शोकमा डुबेको छ । मंगलबार दिउँसो घरमै काम गरिरहेकी सुर्नया ३ बिजुलकी ५६ बर्षीया हरिना बिष्टको घरेलु हतियार प्रयोग गरेर हत्या गरेपछि गाउँ नै शोकमा डुबेको स्थानीय राजेन्द्र बिष्टले बताए । 

बिजुलकै ३२ बर्षीय तेजबहादुर चन्दले हरिनाको हत्या गरेका हुन् । एक्कासी घरमा आएर हरिनामाथि घरेलु हतियार प्रयोग गरेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । उनले भने ‘हामीले घटनास्थलमै पुगेर घटनाको अनुसन्धान गरिरहेका छौं । अभियुक्तलाई मंगलबार नै नियन्त्रणमा लिइसकेका छौं ।’

हरिनाको घरमा कोही नभएका बेला पुगेका चन्दले उनको हत्या गरेपछि गाउँ शोकमग्न भएको छ । गाउँमा नसोचेका घटना भएपछि गाउँ शोकमा डुबेको बिष्टले बताए । 

हरिना श्रीमान गोठालो गएको बेला उनको हत्या भएको थियो । हरिनाको हत्यामा संलग्न रहेका चन्दलाई मानसिक समस्या रहेको स्थानीयहरुको भनाइ छ । उनले २÷३ बर्ष अगाडि पनि गाउँमा गाईभैंसी लगायतका पशुचौपायाको हत्या गरेका थिए । 

मृतकका परिवारले आफूहरुलाई गाउँमा बस्न निकै असहज भएको बताएका छन् । दिनदहाडै आफ्ना मानिसको हत्या भएपछि गाउँमा बस्न निकै असहज भएको बिष्ट परिवारले बताएका छन् । 

बिजुल गाउँमा दिनदहाडै महिलाको हत्या भएपछि अहिले पनि स्थानीयहरु त्रसित अवस्थामा रहेका छन् । अभियुक्तलाई हदैसम्मको कारवाही हुनुपर्ने उनीहरुले माग गरेका छन् । 
 
 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ०९:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update