बैतडी –सुदूरपश्चिम प्रदेशस्थित सीमानाकामा रहेका सशस्त्र प्रहरीले प्रदान गर्ने सेवालाई प्रविधिमैत्री बनाइने भएको छ । विशेषगरी बढी आवतजावत हुने नाकाहरुमा सशस्त्र प्रहरीको सेवालाई प्रविधिमैत्री बनाउन थालिएको हो ।
सशस्त्र प्रहरीको सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित आज सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, मन्त्रालय सचिव सुशील वैद्यसहितको टोलीले सशस्त्र प्रहरीका डिआइजी कुमार न्यौपानेलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । कैलालीको त्रिनगर, खक्रौला र कञ्चनपुरको गड्डाचौकी नाकाका लागि १÷१ थान उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
यस्तै सीमानाकाको तथ्यांक संकलन तथा अभिलेखिकरणका लागि मन्त्रालयले सफ्टवेयर पनि निर्माण गरिरहेको जनाएको छ ।
सीमा सुरक्षालाई चुस्त बनाउन प्रदेश सरकारले मात्रै नसक्ने भएकाले संघ सरकारले पनि आवश्यक स्रोत साधन व्यवस्थापन गर्नुपर्नेमा मन्त्री भट्टले जोड दिए । सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीको सेवालाई प्रभावकारी बनाउनका लागि मन्त्रालयका तर्फबाट हुन सक्ने सबै सहयोग हुने उनले प्रतिबद्धता व्यक्त गरे ।
सोही क्रममा मन्त्री भट्टसहितको टोलीले त्रिनगरको नागरिक सहायता कक्षको पनि अनुगमन गरेको थियो ।




