Sagun Khabar
बैतडीको दोगडाकेदारका प्रमुख प्रशासकीय अधिकृत थारुको सरुवा 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रप्रसाद थारुको सरुवा भएको छ । थारुको कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा सरुवा भएको हो । 

दोगडाकेदार गाउँपालिकामा गत भदौ १८ गते हाजिर भएका थारुको ३ महिनामै सरुवा भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडीका ५ ओटा गाउँपालिकामा गत भदौ ५ गते नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो । 

जिल्लाको सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, डिलाशैनी गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा खटाएका अधिकृतहरुको यसअघि नै सरुवा भइसकेको थियो । 

प्रमुख प्रशासकीय अधिकृत थारुको सरुवा भएपछि तत्कालका लागि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले बताए । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको मनलाग्दी सरुवा गर्ने प्रवृतिले स्थानीय सरकारहरुलाई काम गर्न असहज हुने गरेको अध्यक्ष कार्कीले बताए । 

नयाँ आएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई पालिकाको वस्तुस्थिती बुझ्ने बेलामै मन्त्रालयले सरुवा गर्ने र फेरि नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउने गर्दा समस्या भइरहेको उनको भनाइ छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update