बैतडी–बैतडीको सुर्नया गाउँपालिका –३ बिजुलकी ५६ बर्षीया हरिना बिष्टको हत्याका अभियुक्त सोही ठाउँका तेजबहादुर चन्दमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
मंगलबार दिउँसो घरेलु हतियारको प्रयोग गरेर चन्दले बिष्टको हत्या गरेका थिए । घरमै काम गरीरहेकी बिष्टको ३२ बर्षीय चन्दले सब्बल, हसिया लगायतका घरेलु हतियारको प्रयोग गरेर हत्या गरेका थिए ।
मंगलबार साँझ नै चन्दलाई नियन्त्रणमा लिएको प्रहरीले उनीमाथि अनुसन्धान शुरु गरिसकेको छ । मृतकका आफन्तको जाहेरी अनुसार चन्दमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । जिल्ला अदालत बैतडीबाट १० दिनको म्याद थपेर अभियुक्त चन्दमाथि अनुसन्धान शुरु भएको हो । उनले भने ‘हामीले अभियुक्तमाथि विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं । मृतकका आफन्तले दिएको जाहेरी र घटनास्थलको प्रकृति हेरेर हामीले अनुसन्धान अगाडि बढाएका छौं ।’
मानसिक सन्तुलन ठीक नभएका भनिएका चन्दमाथि सो बिषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । यसका लागि आवश्यक मेडिकल प्रमाणहरुको लेखाजोखा भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।
यसअघि पनि चन्दले बेलाबेलामा गाउँमा आतंक फैलाउँदै आएका थिए । गत विगतमा पनि उनले स्थानीयहरुले पालेका पशुचौपाया मारेका थिए । मंगलबारको घटनामा समेत उनले हरिना बिष्टको हत्या गर्नुका साथै दुईओटा बाख्रा समेत मारिदिएका थिए । मानसिक सन्तुलन ठीक नभएका बेलाबेला आपराधिक क्रियाकलाप गर्दै आएका स्थानीय राजेन्द्र बिष्टले बताए । उनले भने ‘विगतमा पनि उनले गाउँमा धेरै आतंक मच्चाएका हुन् । यो पालि ज्यान नै लिने घटना गरेका छन् । विगतमा स्थानीयहरुले पालेका पशुचौपाया मारेका थिए ।’
अभियुक्त चन्दमाथि प्रहरीले अनुसन्धान शुरु गरेपछि मृतकको शव पोष्टमार्टम गरेर आफन्तहरुले अन्तिम संस्कार गरिसकेका छन् । आज शव पोष्टमार्टमपछि मृतकको अन्तिम दाहसंस्कार गरिएको बिष्टले बताए ।




