बैतडी–बैतडीको एक घरमा आगलागी भएको छ । जिल्लाको पाटन नगरपालिका–२ बिनोडास्थित जयन्ती पन्तको घरमा बुधबार राति साढे ११ बजेतिर आगलागी भएको स्थानीय ईश्वरदत्त पन्तले बताए ।
आगलागीबाट पन्तको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । दुईकोठा र एक भान्सा भएको काठको भुँइतले घरमा आगलागी भएको र आगलागीबाट घरमा भएको सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् ।
भान्सा कोठामा बालेको आगो घरमा सल्किएपछि आगलागी भएको हो । जयन्ती पन्त र उनका दुई छोरा तल्लो घरमा रहेकाले मानवीय क्षति नभएको पन्तले बताए ।
आगलागीबाट पन्तको घरभित्र रहेका अन्नपात, भाँडाकुडा, गरगहना र नगद २५ हजार जलेर नष्ट भएका प्रारम्भिक जानकारी आएको छ ।
एकल महिलासमेत रहेकी पन्तले केही पनि पहिलामात्रै उक्त घर बनाएकी थिइन् । आगलागी भएको थाहा पाएपछि गाउँलेहरुले आगो निभाउने प्रयास गरेको भएपनि घर भने बचाउन नसकिएको पन्तले बताए । वल्लोपल्लो घरमा आगो सल्किन मात्रै बचाउन सकिएको र पन्तको घर भने पूर्ण रुपमा नष्ट भएको स्थानीय ईश्वरदत्त पन्तले बताए ।
घर जलेर नष्ट भएपछि पन्त परिवारको विचल्ली भएको छ । अहिले आफन्तको घरमा बस्नु बाहेकको विकल्प नरहेको उनले बताए । घरमा आगलागी हुँदा ५ लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।




