Sagun Khabar
नमूना विद्यालयमै विद्यार्थीको अनुपातमा शिक्षक अभाव 

बैतडी–बैतडीको मेलौली नगरपालिकास्थित मणिलेक नमूना मावि काँडा मेलौलीमा विद्यार्थी अनुपातमा शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ । जिल्लाको तल्लोसोराड क्षेत्रको पुरानो विद्यालयको रुपमा रहेको मणिलेक माविमा विद्यार्थी संख्या अनुसार शिक्षकको दरबन्दी नहुँदा पठनपाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीले बताए । 

कक्षा १२ सम्मको पढाई हुने उक्त विद्यालयमा अहिले ९ सय ५० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । कक्षा ९ देखि १२ सम्म प्राविधिक धार अन्तर्गत सिभिल इन्जिनियरिङको समेत पठनपाठन हुँदै आएको मणिलेक नमूना माविमा विद्यार्थीको अनुपातमा शिक्षकको अभाव रहेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

शिक्षकको अभावमा एकै कक्षाकोठामा ६५ जना विद्यार्थी राखेर पठनपाठन गर्नुपर्ने अवस्था रही आएको विद्यालयका प्रधानाध्यापक कलौनीले बताए । जबकि एउटा शिक्षकले बढीमा ४५ जना विद्यार्थीहरुलाई एक कक्षामा पठनपाठन गर्न सक्ने प्रावधान रही आएको छ । 

मणिलेक माविमा बिषयगत हिसाबले विद्यार्थी अनुपातमा ३० जना शिक्षकको दरबन्दी हुनुपर्ने भएपनि स्थायी दरबन्दी १५ जनामात्रै रहेको छ । अहिले १३ जना अनुदान कोटा र ११ जना आंशिक शिक्षक निजीश्रोतबाट राखेर पठनपाठन कार्य भइरहेको प्रधानाध्यापक कलौनीले बताए । 

स्थानीय सरकारले समेत दरबन्दी मिलानको काम गर्न नसक्दा विद्यार्थी संख्या बढी भएका विद्यालयहरु मारमा परेका छन् । अहिले माध्यमिक तह सम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहलाई छ । तर मेलौली नगरपालिकाले शिक्षक दरबन्दी मिलान गर्न नसक्दा समस्या भएको बताइएको छ । 

मणिलेक मावि २०७५ सालमा नमूना विद्यालयको रुपमा घोषणा भएको थियो । वि.सं २००४ सालमा स्थापना भएको मणिलेक माविले अहिले सम्म पनि शिक्षककै अभाव झेलीरहेको छ । कक्षा ११ र १२मा विज्ञान बिषयको समेत पठनपाठन भइरहेको विद्यालयले शिक्षक अभावमै पठनपाठन गर्नुपरीरहेको प्रधानाध्यापक कलौनीले बताए । 

स्थानीय सरकारले विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान गरेमा सहज हुने भएपनि अहिले दरबन्दी मिलानको काम अघि बढ्न सकेको छैन् । विद्यार्थी अनुपातमा शिक्षक नहुँदा पठनपाठन कार्य प्रभावकारी हुन नसकेको स्वयं शिक्षकहरुले बताएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update