Sagun Khabar
एक महिनाको विद्युत महसुल २ लाख ७६ हजार आएपछि ...

बैतडी–बैतडीमा एकजना ग्राहकको एक महिनाको विद्युत महसुल २ लाख ७६ हजार ११५ रुपैयाँ आएको छ । जिल्लाको सुर्नया गाउँपालिका ५ कठेगौंडाका कैले मडैको नाममा रहेको विद्युत मिटरमा भदौको महिनाको विद्युत महसुल २ लाख ७६ हजार रुपैयाँ आएको छ । 

उक्त घरमा वसन्ती मडै बस्दै आएकी छिन् । श्रीमान र उनका छोराछोरी घर बाहिर रहेका छन् । घरमै एक्लै बस्ने वसन्तीले एक बल्ब मात्रै बाल्ने गरेको बताइन् । तर एक महिनाको विद्युत महसुल २ लाख ७६ हजार ७७ रुपैयाँ आएपछि उनी अहिले तनावमा छिन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

घरमा बल्ब बाहेक अन्य कुनै पनि विद्युतीय सामग्री नरहेको वसन्तीले बताइन् । तर लाखौं रुपैयाँमा बील आएपछि निकै समस्या भएको उनले सुनाइन् । 

प्रत्येक महिना नियमित रुपमा विद्युत महसुल तिर्दै आएकी मडैको अरु महिना न्यूनतम महसुल ३० रुपैयाँ आउने गरेको भएपनि भदौको महिनाको महसुल २ लाख ७६ हजार  रुपैयाँ आएको छ । 

विद्युत महसुल बढी आएको बारेमा नेपाल विद्युत प्राधिकरणको पाटन केन्द्रमा लिखित रुपमै जानकारी गराईसकेको भएपनि केही सुनुवाई नभएको उनका आफन्त प्रिन्स महराले बताए । प्रत्येक महिना महसुलमा ब्याज लाग्दै बढ्दै गइरहेको उनले बताए । बढी महसुल आएको बिषयमा बेलैमा जानकारी गराएको भएपनि समस्या समाधान नभएको उनको भनाइ छ । उनले भने ‘प्रयोग नै नगरेको विद्युतको बील कसरी तिर्ने ? एक बल्बमात्रै बालेको २ लाख ७६ हजार आउँछ भने यो बिषयमा कार्यालयले गम्भीर भइदिनु पर्यो ।’

घरमा बत्ती बालेकै २ लाख ७६ हजार महसुल आएको बिषयमा आफूलाई जानकारी आएको र यो बिषयमा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयमा परामर्श भइरहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्र प्रमुख जनार्दन पौडेलले बताए । 

मिटरमा आएको समस्याले बढी युनिट देखिएर विद्युत महुसल बढी आएको हुन सक्ने उनले बताए । उनले भने ‘घरमा प्रयोग भएको विद्युतको यो महसुल धेरै हो । यो बिषयमा जानकारी आएको छ । यसका लागि केन्द्र र क्षेत्रीय कार्यालयमा समन्वय गरिरहेको छु ।’ 

कतिपय ठाउँमा विद्युत मिटर रिडिङ गर्नेहरुकै कारण समेत समस्या हुने गरेको छ । मिटर भएको अंक सही टिपोट नहुँदा एकैचोटी धेरै महसुल आउने गरेको गुनासो समेत रही आएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update