Sagun Khabar
बैतडीमा महिला हत्या प्रकरण : बिजुल गाउँका बालबालिका अझै त्रसित 

बैतडी–गएको मंगलबार घरेलु हतियारको प्रयोग गरेर बैतडीको बिजुल गाउँमा एक महिलाको हत्या भएपछि गाउँका बालबालिकाहरु अझै त्रसित अवस्थामा रहेका छन् । 

गाउँकै ३२ बर्षीय तेजबहादुर चन्दले सोही ठाउँकी ५६ बर्षीया हरिना बिष्टको घरेलु हतियारको प्रयोग गरेर हत्या गरेका थिए । सब्बल, हसिया लगायतका घरेलु हातहतियारले हरिनाको हत्या गरेको देखेका बालबालिकाहरु अझै त्रसित अवस्थामा रहेका छन् । 

हरिनाकै घरका बालबालिकाहरुले समेत त्यो दिन भागेर ज्यान जोगएका थिए । मंगलबारको घटनापछि गाउँका बालबालिकाहरुमा त्रास फैलिएको श्रीकेदार आधारभूत विद्यालय बिजुलका प्रधानाध्यापक भुवन भट्टले बताए । गाउँमा घटना भएपछि विद्यालय आउने बालबालिकाहरुको संख्यामा कमी आएको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

मंगलबारको घटनापछि गाउँका बालबालिकाहरु विद्यालय आउन छोडेका छन् । कतिपय बालबालिकाहरुले अझै त्रसित अवस्थामा रहेका प्रधानाध्यापक भट्टले बताए । उनले भने ‘कतिपय बालबालिकाहरुले आफ्नै आँखाले त्यो घटना देखेका थिए । त्यसैले बालबालिकाहरु निकै त्रसित रहेका छन् । उनीहरु एक्ले हिड्न, बस्न खोजीरहेका छैनन् ।’

महिलाको हत्यापछि गाउँमा अझै त्रासको वातावरण रहेको प्रधानाध्यापक भट्टले बताए । यद्यपि महिला हत्याका अभियुक्त तेजबहादुर चन्दलाई प्र्रहरीले पक्राउ गरेर अनुसन्धान समेत अगाडि बढाईसकेको छ । तर आफ्नै अगाडि घरेलु हतियारको प्रयोग गरेर महिलाको हत्या भएको देखेकाहरु सामान्य अवस्थामा फर्कि नसकेका उनले बताए । 

गाउँका अन्य मानिसको तुलनामा बालबालिकाहरु बढी त्रसित रहेको स्थानीय राजेन्द्र बिष्टले बताए । गाउँमै दर्दनाक घटना देखेपछि बालबालिकाहरु त्रसित अवस्थामा रहेका उनले बताए । उनले भने ‘मंगलबारको घटनापछि बिजुल गाउँ निकै त्रासमा छ । गाउँका महिला तथा बालबालिकाहरु त्रसित अवस्थामा रहेका छन् ।’

मानसिक अवस्था ठीक नभएका भनिएका तेजबहादुर चन्दले यसअघि पनि गाउँमा पशुचौपायाको हत्या गरेका थिए । दुई÷तीन बर्ष अगाडि स्थानीयहरुले पालेका पशुचौपायाको चन्दले हत्या गरेका थिए । 

विभिन्न आपराधिक क्रियाकलाप गर्दै आएका चन्दले मंगलबार महिलाको हत्या गरेपछि गाउँमा निकै सन्नटा छाएको बिष्टले बताए । 

यता प्रहरीले भने  महिला हत्याका अभियुक्त चन्दमाथि अनुसन्धान गरिरहेको छ । उनको मानसिक अवस्थाका बिषयमा समेत चिकित्सकसंग चेकजाँच गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । 

जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अभियुक्त चन्दमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।  
 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update