Sagun Khabar
सुर्नयाको केदार माविमा स्वास्थ्य शिविर : २ सय ६७ विद्यार्थीले लिए सेवा 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका –७ स्थित केदार मावि कठमडामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा आँखा, नाक,कान तथा सामान्य स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरिएको हो । 

विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरी उनीहरुलाई आवश्यक स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको हो । सुर्नया गाउँपालिकासँगको समन्वयमा शिविरको आयोजना गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

शिविरमा केदार माविमा अध्ययनरत २ सय ६७ जना विद्यार्थीले सेवा लिएका शिखरपुर स्वास्थ्यचौकीका इञ्चार्ज बिरबहादुर बोहराले बताए । शिविरमा सेवा लिएका विद्यार्थी मध्ये आँखाको समस्या भएका चार जनालाई निशुल्क चस्मा वितरण गरिएको छ भने ३५ जना भन्दा बढी विद्यार्थीहरुको दाँत सफाइ गर्नुका साथै निकाल्नुपर्ने दाँत निकालिएको छ । 

शिविरमा सहभागी विद्यार्थीहरुको सामान्य स्वास्थ्य परीक्षण समेत गरिएको इञ्चार्ज बोहराले बताए । शिविरमा सहभागी भएका विद्यार्थीहरुलाई स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सम्बन्धीका विभिन्न परामर्शहरु पनि प्रदान गरेका थिए । 

यसअघि पाटन नगरपालिका वडा नं ७ को उदयदेव मावि किम्तोलीमा पनि शिविरको आयोजना गरिएको थियो । 

विद्यार्थीहरुलाई विद्यालयमै स्वास्थ्य सेवा दिने उद्देश्यले हरेक बर्ष विद्यालयहरुमा स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको स्वास्थ्य प्रमुख भट्टले बताए । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update