Sagun Khabar
आगलागीले घर पूर्ण रुपमा नष्ट भएपछि पन्त परिवारको विचल्ली 

बैतडी–बैतडीको पाटन नगरपालिका २ बिनोडास्थित जयन्ती पन्तको घरमा आगलागी भएपछि अहिले उनको परिवार विचल्लीमा परेको छ । बुधबार राति भएको आगलागीले पन्तको घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका थिए । 

एक दशक अघि भएको सवारी दुर्घटनामा श्रीमान गुमाएका जयन्तीको ओत लाग्ने घर आगलागीले नष्ट भएपछि अहिले बसोबासकै समस्या भएको स्थानीय ईश्वरदत्त पन्तले बताए । केही महिना पहिलामात्रै पन्तले काठ र जस्तापाताको प्रयोग गरेर उक्त घर बनाएकी थिइन् । बुधबार रातिको आगलागीपछि उनको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

दुई छोरा र आफू बस्दै आएको घर जलेर खरानी भएपछि अहिले जयन्तीको परिवार समस्यामा परेको छ । बस्ने घर जल्नुका साथै अन्नपात, भाँडाकुँडा सबै जलेर नष्ट भएपछि अहिले जेठाजुको घरमा बसीरहेको पन्तले बताइन् । उनले भनिन् ‘दुःख गरेर बनाएर घर खरानी भएको छ । अन्नपात सबै नष्ट भएको छ । हातमुख जोर्नै समस्या भएको छ ।’

पन्तको घर आगलागीले पूर्ण रुपमा नष्ट भएपछि स्थानीय छिमेकीहरुले लुगाफाटो र खाद्यान्नको सहयोग गरिरहेका स्थानीय ईश्वरदत्त पन्तले बताए । तर उनको दीर्घकालिन व्यवस्थापनका लागि सहयोगको खाँचो रहेको उनले बताए । उनले भने ‘आगलागीले उनको घरमा केही बाँकी रहेको छैन् । त्यसैले उनको परिवारको दीर्घकालिन व्यवस्थापनका लागि सहयोग गर्नुपर्ने आवश्यकता रहेको छ ।’

भान्सा घरमा बालेको आगो सल्केपछि पन्तको घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो । दुई कोठे घर र भान्सा घर खरानी भएको बताइएको छ । 

पन्त परिवारलाई सहयोग गरिदिन समेत स्थानीयहरुले आग्रह गरेका छन् । एकल महिला समेत रहेकी जयन्ती पन्त अहिले निकै तनावमा रहेकी छिन् ।  
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update