Sagun Khabar
बैतडीको सरस्वती संस्कृत माविमा स्वास्थ्य शिविर : ९८ जना विद्यार्थीले लिए सेवा 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका वडा नं ६ स्थित सरस्वती संस्कृत मावि नगतडीमा शुक्रबार स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा आँखा, नाक,कान तथा सामान्य स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरिएको हो । 
विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरी उनीहरुलाई आवश्यक स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको हो । दशरथचन्द नगरपालिकासँगको समन्वयमा शिविरको आयोजना गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

शिविरमा सरस्वती संस्कृत माविमा अध्ययनरत ९८ जना विद्यार्थीले सेवा लिएका अहेव महेश भट्टले जानकारी दिए । शिविरमा सेवा लिएका विद्यार्थी मध्ये आँखाको समस्या भएका एक  जनालाई निशुल्क चस्मा वितरण गरिएको छ भने एकजनालाई गेटा आँखा अस्पताल रेफर गरिएको छ । शिविरमा ६३ जनाको दाँतको चेकजाँच गरेको र १९ जनाको दाँत निकालिएको डेन्टल हाइजिनिष्ट रोशन बलायरले बताए । 

शिविरमा सहभागी विद्यार्थीहरुको सामान्य स्वास्थ्य परीक्षण समेत गरिएको अहेव भट्टले बताए । शिविरमा सहभागी भएका विद्यार्थीहरुलाई स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सम्बन्धीका विभिन्न परामर्शहरु पनि प्रदान गरेका थिए । 

यसअघि बिहीबार सुर्नया गाउँपालिका ७ स्थित केदार मावि कठमडामा शिविर सञ्चालन भएको थियो । त्यहाँ २ सय ६७ जना विद्यार्थीहरुले सेवा लिएका थिए । 

विद्यार्थीहरुलाई विद्यालयमै स्वास्थ्य सेवा दिने उद्देश्यले हरेक बर्ष विद्यालयहरुमा स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update