बैतडी–बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको सरुवा भएको छ । गृहमन्त्रालयले पन्थीसहित १६ जना सहसचिवको सरुवा गरेको हो । पन्थीलाई बैतडीबाट नवलपरासीे पश्चिमको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरेको हो ।
२०७९ जेठमा प्रमुख जिल्ला अधिकारीको रुपमा बैतडीका आएका पन्थीको डेढ बर्षपछि सरुवा भएको हो ।
पन्थीको बैतडीबाट सरुवा गरेको भएपनि बैतडीको सिडिओमा कसलाई पठाउने भन्ने बारेमा केही निर्णय भएको छैन् । आइतबार सम्ममा बैतडीमा आउने नयाँ सिडिओको टुंगो लाग्ने सम्भवना रहेको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । बैतडीमा आउने सिडिओको टुंगो लागेपछि मात्रै प्रमुख जिल्ला अधिकारी पन्थी बैतडीबाट नवलपरासी पश्चिम जाने बुझिएको छ ।
बैतडीमा डेढ बर्षको बसाइ निकै उपलब्धीमूलक रहेको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । बैतडी जिल्ला धार्मिक र सांस्कृतिक हिसाबले समेत निकै महत्वपूर्ण जिल्ला भएकाले यो जिल्लामा काम गर्ने अवसरमा पाउनु निकै सुखद रहेको उनले सुनाए ।
सहसचिवस्तरको दोश्रो सिडिओको रुपमा पन्थीले बैतडीमा काम गरेका हुन् । सरकारले बैतडीमा सहसचिवस्तरको सिडिओ बस्ने बस्ने व्यवस्था गरेपछि सहसचिवस्तरको दोश्रो सिडिओको रुपमा पन्थीले बैतडीमा कामकाज गरेका हुन् ।
बैतडी बस्दा स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन शान्त र भयरहित रुपमा सम्पन्न गरिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।
यस्तै जिल्लाका सबै जसो दुगर्म क्षेत्रमा पुगेर सरकारी सेवालाई प्रभावकारी बनाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । दुगर्म क्षेत्रमा अवैध रुपमा सञ्चालनमा रहेका मेडिकलहरुलाई प्रमुख जिल्ला अधिकारी पन्थीको नेतृत्वमा कारवाही गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयको सेवालाई सेवाग्राहीमैत्री बनाउन पन्थीकै कार्यकालमा विद्युतीय टोकन प्रणालीको शुरुवात गरिएको छ भने आवश्यक कागजातहरुको फोटोकपी र इमेल इन्टरनेटको व्यवस्था समेत प्रशासन परिसरभित्र निशुल्क रुपमा गर्ने गरिएको छ ।





