Sagun Khabar
‘काशी–पदमा विपन्न जेहेन्दार छात्रवृति’डिलेश्वरी माविका दुई विद्यार्थीलाई प्रदान 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकास्थित डिलेश्वरी मावि हाटमा स्थापना भएको ‘काशी–पदमा विपन्न जेहेन्दार छात्रवृति’ कोषबाट दुई जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको छ । 

विद्यालयको ७६ औं बार्षिकोत्सवको अवसरमा कक्षा १० मा अध्ययनरत सरोज धनुषे र कक्षा १२ मा अध्ययनरत बबिता महरालाई छात्रवृति प्रदान गरिएको हो । उनीहरुलाई जनही १२ हजार छात्रवृति उपलब्ध गराएको विद्यालयले जनाएको छ । 

विद्यालयमा लामो समय सम्म शिक्षण पेशामा आवद्ध रहेका स्वर्गीय कासी कुँवर र उनका श्रीमति स्वर्गीय पदमा कुँवरको सम्झनामा गत बर्ष छात्रवृति कोष स्थापना गरिएको थियो ।

स्वर्गीय कुँवरका छोरा विनोदकुमार  कुँवर र बुहारी रेवती नेगी कुँवरको पहलमा गत बर्ष छात्रवृति कोषको स्थापना गरिएको थियो । 

भिआइपी जनरल स्टोरले कोषका लागि हरेक बर्ष २४ हजार रुपैयाँ विद्यालयलाई उपलब्ध गराउने सम्झौता अनुसार यो बर्ष पनि छात्रवृति रकम उपलब्ध गराएको कुँवरले बताए । विद्यालयमा कोष स्थापनाका गरेका कुँवर पुर्चौंडी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखको  रुपमा कार्यरत रहेका छन् । 

विद्यालयको ७६ औं बार्षिकोत्सवको अवसरमा दुई जना छात्रछात्राहरुलाई छात्रवृति बाफतको रकम कुँवरले हस्तान्तरण गरेका थिए । 

विपन्न छात्रा छात्राहरुलाई पठनपाठनमा केही सहयोग होस भनेर कोषको स्थापना गरिएको र सोही कोषबाट यो बर्ष पनि दुई जनालाई छात्रवृति प्रदान गरिएको कुँवरले बताए । 

विद्यालयको हरेक बर्षको बार्षिकोत्सवको दिन एक जना छात्र र एक छात्रालाई कोषका तर्फबाट छात्रवृति उपलब्ध गराइने कुँवरले बताए ।
 

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update