बैतडी –बैतडीको पाटन नगरपालिका–२ बिनोडास्थित जयन्ती पन्तको परिवारलाई सहयोग जुट्न थालेको छ । गएको बुधबार राति भएको आगलागीले पन्तको घर पूर्ण रुपमा नष्ट भएपछि उनलाई गास,बास र कपासका लागि सहयोग जुट्न थालेको हो ।
एकल महिलासमेत रहेकी पन्तको काठ र जस्तापाताले बनाएको दुईकोठे भुँइतले घर र भान्सा घर आगलागीले पूर्ण रुपमा नष्ट भएको थियो । भान्सा घरबाट आगो सल्किँदा पन्तको घरभित्र रहेका सबै भाँडाकुडा, अन्नपात, गरगहना, लुगाकपडा र केही नगद रकम समेत जलेर नष्ट भएको थियो ।
खाना खाएर पन्त र उनका छोरा तल्लो घरमा सुतेको हुनाले मानवीय क्षति नभएपनि ओत लाग्ने घर नष्ट भएपछि समस्या भएको छ । आगलागीबाट घर पूर्ण रुपमा नष्ट भएपछि पाटन नगरपालिकाका तर्फबाट राहत सामग्री प्रदान गरिएको छ ।
बिनोडास्थित पन्तको घरमै पुगेर नगर उपप्रमुख कमलसिंह बोहरासहितको टोलीले पीडित पन्त परिवारलाई तत्काल चाहिने खाद्यान्न, भाँडाकुडा र लत्ताकपडा प्रदान गरेको हो ।
नगरपालिकाका तर्फबाट पीडित जयन्ती पन्तलाई ५० केजी चामल,५० केजी गहुँ, दाल, तेल लगायतका खाद्यान्न सामग्रीका साथै भाँडाकुडा र लत्ताकपडा प्रदान गरिएको उपप्रमुख बोहराले बताए । उनले भने ‘हामीले तत्कालका लागि पीडित परिवारलाई केही खाद्यान्न सामग्री, ओढ्ने ओछ्याउने लत्ताकपडा र भाँडाकुडाको सहयोग गरेका छौं । पीडित पन्तको घर निर्माणमा पालिकाका तर्फबाट आवश्यक सहयोग गर्छौं ।’
केही महिना पहिलामात्रै बनाएको घर आगलागीबाट पूर्ण रुपमा क्षतिग्रस्त भएपछि पन्तको घर निर्माणमा समेत नगरपालिकाका तर्फबाट सहयोग गर्ने उपप्रमुख बोहराले प्रतिबद्धता व्यक्त गरे । कार्यपालिकाबाट निर्णय गराएर पीडित पन्तको घर निर्माणमा सहयोग गरिने उनले बताए ।
यस्तै आगलागीबाट पीडित जयन्ती पन्तलाई विभिन्न ठाउँबाट आर्थिक सहयोग समेत हुन थालेको छ । पन्तको खातामा विभिन्न ठाउँमा सहयोग रकम संकलन हुन थालेको उनका जेठाजु श्यामदत्त पन्तले बताए ।
एक दशक अघि भएको सवारी दुर्घटनामा श्रीमान गुमाएकी जयन्ती पन्तलाई घरपरिवार चलाउन मुस्किल भइरहेका बेला आगलागीले घर पूर्ण रुपमा नष्ट भएपछि उनको सहयोगका लागि अभियान सञ्चालन भएको हो । पन्तका दुई छोरा रहेका छन् ।
आगलागी पीडित पन्तलाई सहयोग गर्न चाहनुहुने महानुभावहरुले जयन्ती पन्तको कृषि विकास बैंकमा रहेको खाता नम्बर 0823900875938017 मा सहयोग रकम जमा गर्न सक्नुहुनेछ ।




