बैतडी–बैतडीका किशोरकिशोरीहरुमा दाँत सम्बन्धी समस्या अत्यधिक रहेको पाइएको छ । स्वास्थ्य कार्यालयले विद्यालयहरुमा सञ्चालन गरेको स्वास्थ्य परीक्षण शिविरमा जाँच गराएका अधिकांश किशोरकिशोरीहरुमा दाँत सम्बधी समस्या रहेको पाइएको हो ।
मुख स्वास्थ्यका बिषयमा ध्यान नदिँदा धेरै जसो किशोरकिशोरीहरुमा दाँत सम्बन्धी समस्या रहेको पाइएको डेन्टल हाइजिनिष्ट रोशन बलायरले बताए ।
जिल्लाको सुर्नया गाउँपालिका, पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाका एक÷एक ओटा विद्यालयमा सञ्चालन गरेका शिविरमा विद्यार्थीहरुमा दाँतको समस्या रहेको पाइएको हो ।
सुर्नया गाउँपालिका वडा नं ७ स्थित केदार मावि कठमडामा सञ्चालन भएको शिविरमा १६२ जनाको दाँत चेकजाँच गरेकोमा ३५ जनाको दाँत निकालिएको छ । अन्य विद्यार्थीहरुलाई दाँत भर्नुपर्ने लगायतका सुझावहरु दिइएको डेन्टल हाइजिनिष्ट बलायरले बताए ।
यस्तै सरस्वती संस्कृत मावि नगतडीमा सञ्चालन भएको शिविरमा ८३ जना विद्यार्थीहरुको दाँत परीक्षण गरिएकोमा १९ जनाको दाँत निकालिएको र २५ जनालाई दाँत सफा गर्न र भर्न सुझाव दिइएको छ ।
यस्तै पाटन नगरपालिका ७ स्थित उदयदेव मावि किम्तोलीमा आयोजना गरिएको शिविरमा पनि ७० जना बालबालिकाहरुमा दाँत सम्बन्धी समस्या देखिएको बलायरले बताए ।
दाँतको सरसफाइमा ध्यान नदिँदा यो समस्या बल्झिदै गएको उनले बताए । मुख स्वास्थ्यको बिषयमा अभिभावकहरु समेत जानकार नभएकाले समस्या भएको उनको भनाइ छ । उनले भने ‘हामीले दाँत महत्वपूर्ण अंग हो भन्ने बिषयमा थाहा पाउनु आवश्यक छ । दाँतको सरसफाइदेखि अन्य कुराहरुमा समेत ध्यान दिनुपर्ने हुन्छ ।’
ग्रामीण क्षेत्रमा नियमित रुपमा दाँत माझ्ने र सरसफाइ गर्नेको संख्या अझै पनि कम रहेको शिखरपुर स्वास्थ्यचौकीका इञ्चार्ज बीरबहादुर बोहराले बताए । ग्रामीण क्षेत्रका नागरिक अझै मुख स्वास्थ्यको बिषयमा जानकार नभएको उनले बताए । उनले भने ‘ग्रामीण क्षेत्रमा अझै पनि स्वास्थ्यको बिषयमा त्यति जानकार छैनन् । मुख स्वास्थ्यका बिषयमा झन् समस्या छ ।’
दुर्गम क्षेत्रका विद्यार्थीहरुको स्वास्थ्य सेवामा पहुँच पुगोस भन्ने हेतुले विद्यालयहरुमा शिविर सञ्चालन गर्ने गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।





