Sagun Khabar
इलाका प्रहरी कार्यालय पाटनमा सार्वजनिक सुनुवाई सम्पन्न 

बैतडी –बैतडीको इलाका प्रहरी कार्यालय पाटनमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । आइतबार सरोकारवालाहरुको सहभागितामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालयबाट अहिले सम्म सम्पादन भएका कामहरुको बारेमा जानकारी गराइएको थियो । यस्तै जिल्ला प्रहरी कार्यालयबाट प्रदान भइरहेका सेवाका बारेमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले सहभागीहरुलाई जानकारी गराएका थिए । 

प्रहरीले लागु औषध विरुद्धको महाअभियान सञ्चालन गरेको, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम जारी रहेको, अपराध न्यूनीकरणका लागि समुदायसंग मिलेर काम गरिरहेको बारेमा प्रहरी नायब उपरीक्षक गिरीले सहभागीहरुलाई जानकारी गराएका थिए । 

सार्वजनिक सुनुवाईमा कम गुणस्तरको मदिरा अर्थात ठेउकाको विक्रिवितरणले समाजमा असर पारीरहेको कुरा उठेको र यसको नियन्त्रणका लागि सबै सरोकारवालाहरुले पहल गर्ने प्रहरी नायब उपरीक्षक गिरीले बताए । 

ग्रामीण क्षेत्रमा मदिराको कारोबारका लागि अनुमति नलिएकाहरुले समेत ठेउका विक्रि वितरण गरिरहेका र यसले हिंसाका घटनाहरु बढेको प्रति प्रहरीको ध्यानाकर्षण गराइएको थियो । यो बिषयमा प्रहरीले सबै सरोकारवाला निकायहरुसंग मिलेर अघि बढ्न प्रहरी नायब उपरीक्षक गिरीले बताए । 

प्रत्येक तीन÷तीन महिनामा सार्वजनिक सुनुवाई गर्ने कार्यक्रम अनुसार इलाका प्रहरी कार्यालयमा सार्वजनिक सुनुवाई गरिएको हो । गएको असोजमा सदरमुकाममा सार्वजनिक सुुनुवाई कार्यक्रमको आयोजना गरिएको थियो । 

उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा, वडा अध्यक्ष, व्यापारी, बुद्धिजीवि र स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update