Sagun Khabar
सामाजिक अभियान्ता टेरद्वारा जन्मदिनको अवसरमा कैदीबन्दीका लागि पुस्तक हस्तान्तरण

बैतडी–बैतडीकी सामाजिक अभियान्ता निर्मला टेरले आफ्नो जन्मदिनको अवसरमा कैदीबन्दीहरुलाई पुस्तक वितरण गरेकी छिन् । जिल्लाको दशरथचन्द नगरपालिका १ गुरुखोला घर भएकी टेरले जन्मदिनको अवसर पारेर आइतबार कैदीबन्दीहरुका लागि सकारात्मक सोचको विकास गर्ने उद्देश्यले पुस्तक वितरण गरेकी हुन् । 

उनले विभिन्न १५ ओटा पुस्तक कैदीबन्दीका लागि प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई हस्तान्तरण गरिन् । जिल्ला प्रहरी कार्यालयमार्फत ती पुस्तकहरु जिल्ला कारागारका कैदीबन्दीहरुलाई दिइने बताइएको छ । 

जीवन काँडाकी फूल, टाइगर हिलकी रानी, मान्छे चिन्ने सुत्र,यस्तो होस जीवनशैली जस्ता १५ ओटा पुस्तकहरु उनले हस्तान्तरण गरेकी हुन् । कैदीबन्दीहरुमा सकारात्मक भावनाको विकास गराउने र उनीहरुलाई अध्ययनका लागि समेत सहज होस भनेर पुस्तक हस्तान्तरण गरेको टेरले बताइन् । 

जन्मदिनको अवसरमा टेरलाई प्रमुख जिल्ला अधिकारी पन्थी लगायतका व्यक्तित्वहरुले दोसल्ला ओढाएर शुभकामना व्यक्त गरेका थिए । 

जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा कैदीबन्दीहरुलाई केही सहयोग पुगोस भनेर पुस्तक हस्तान्तरण गरेको टेरले बताइन् । 

स्नातक तहमा अध्ययनर टेरले लामो समयदेखि बालबालिका तथा युवाहरुको हक अधिकारका लागि पैरवी गर्दै आएकी छिन् । उनले बालविवाह न्यूनीकरणको अभियानमा समेत सक्रिय भूमिका खेलीरहेकी छिन् । 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update