Sagun Khabar
इलाका प्रशासन कार्यालय पुर्चौंडीबाट नागरिकता जारी गर्ने कार्य रोकियो 

बैतडी –बैतडीको हाटस्थित इलाका प्रशासन कार्यालय पुर्चौंडीबाट तत्कालका लागि नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्ने कार्य रोकिएको छ । 

इलाका प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र जारी हुँदै आएकोमा म्याद थप नभएकाले तत्कालका लागि उक्त कार्य रोकिएको इलाका प्रशासन कार्यालय पुर्चौंडीका कार्यालय प्रमुख नन्दराज पन्तले जानकारी दिए । 

इलाका प्रशासन कार्यालय पुर्चौंडीमा शाखा अधिकृतको दरबन्दी भएपनि अहिले सम्म पदपूर्ती हुन सकेको छैन् । शाखा अधिकृतको पदपूर्ती नभएपछि गृहमन्त्रालयले कार्यालयमा कार्यरत सिनियर सुब्बा नन्दराज पन्तलाई ६ महिनाका लागि कायममुकायम मुकरर दिएकोमा सो अवधी पनि सकिएकाले नागरिकताको प्रमाणपत्र जारी गर्ने कार्य रोकिएको निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बोहराले बताए । 

एकै व्यक्तिलाई दोश्रो पटक कायममुकायम मुकरर अधिकार दिन नमिल्ने निजामति सेवा ऐनमा व्यवस्था रहेको निमित्त प्रमुख जिल्ला अधिकारी बोहराले बताए । गृहमन्त्रालयले शाखा अधिकृत नखटाउँदा सम्म इलाका प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र जारी गर्ने व्यवस्था रोकिएको बताइएको छ । 

प्रमुख जिल्ला अधिकारीको समेत सरुवा भएकाले जिल्ला प्रशासन कार्यालयमा समेत कर्मचारीको अभाव रहेको छ । कार्यालयका प्रशासकीय अधिकृत शंकरबहादुर बोहरा नै अहिले निमित्त प्रमुख जिल्ला अधिकारीको रुपमा रहेका छन् । 
इलाका प्रशासन कार्यालय पुर्चौंडीबाट नागरिकताको प्रमाणपत्र जारी गर्ने कार्य रोकिँदा स्थानीय नागरिकलाई समस्या भएको छ । नागरिकता प्रमाण पत्र बनाउनैका लागि अब सदरमुकाम धाउनुपर्ने बाध्यता आइलागेको छ । 

Ilaka1702892380.jpg

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update