Sagun Khabar
प्रमुख जिल्ला अधिकारी पन्थीको भव्य बिदाई 

बैतडी–बैतडीबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको भव्य बिदाई गरिएको छ । बैतडीबाट नवलपरासी पश्चिमको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएपछि पन्थीको बाजागाजा र छलिया नाचसहित बिदाई गरिएको हो । 

शाहीलेकमा सोमबार बिहानै स्थानीयहरुले बाजागाजा र छलिया नाचसहित प्रमुख जिल्ला अधिकारी पन्थीको बिदाई गरेका थिए । उनीहरुले प्रमुख जिल्ला अधिकारी पन्थीलाई तामाको गाग्री उपहार दिएका थिए । 

यसअघि आइतबार कर्मचारी मिलन केन्द्र,जिल्ला सुरक्षा समिति र दशरथचन्द नगरपालिकाको तर्फबाट पनि प्रमुख जिल्ला अधिकारी पन्थीको बिदाई गरिएको थियो ।यस्तै पाटन नगरपालिकाले पनि एक कार्यक्रमको आयोजना गरेर प्रमुख जिल्ला अधिकारी पन्थीको बिदाई गरेको थियो । 

प्रमुख जिल्ला अधिकारीको रुपमा २०७९ जेठमा बैतडी आएका पन्थीको करीब डेढ बर्षपछि सरुवा भएको हो । नेपाल सरकारको सहसचिव रहेका पन्थीले जिल्लामा सरकारी सेवालाई प्रभावकारी बनाउन भरमग्दुर प्रयास गरेका थिए । 

बैतडी बस्दा स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन शान्त र भयरहित रुपमा सम्पन्न गरिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । 

यस्तै जिल्लाका सबै जसो दुगर्म क्षेत्रमा पुगेर सरकारी सेवालाई प्रभावकारी बनाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । दुगर्म क्षेत्रमा अवैध रुपमा सञ्चालनमा रहेका मेडिकलहरुलाई प्रमुख जिल्ला अधिकारी पन्थीको नेतृत्वमा कारवाही गरिएको थियो । 

जिल्ला प्रशासन कार्यालयको सेवालाई सेवाग्राहीमैत्री बनाउन पन्थीकै कार्यकालमा विद्युतीय टोकन प्रणालीको शुरुवात गरिएको छ भने आवश्यक कागजातहरुको फोटोकपी र इमेल इन्टरनेटको व्यवस्था समेत प्रशासन परिसरभित्र निशुल्क रुपमा गर्ने गरिएको छ ।

बैतडीको बसाईको क्रममा जिल्लाको शान्ति, सुरक्षा, सुव्यवस्था र अपराध नियन्त्रण, शासकीय प्रबन्ध एवम् सुशासन, सेवा प्रवाह सरलीकरण, गुनासो व्यवस्थापन, लागू औषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण एवम् व्यवस्थापन, राजस्व चुहावट नियन्त्रण, मुआब्जा वितरण एवम् व्यवस्थापन, विकास व्यवस्थापन एवम् सहजीकरण लगायतका कामहरु गरेको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । 

बैतडी बस्दा बैतडीबासीको अपार माया पाएको भन्दै उनले सबैलाई धन्यवाद समेत ज्ञापन गरेका छन् । 

नेपाल सरकारले बैतडीका सहसचिवस्तरको सिडिओ बस्ने व्यवस्था गरेपछि उनी सहसचिवस्तरको दोश्रो सिडिओ हुन् । पन्थीको सरुवा भएसंगै फेरि गृह मन्त्रालयले बैतडीको सिडिआको रुपमा उपसचिव भीमकान्त शर्मालाई खटाएको छ । 
 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update