बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले गर्भवती आमाहरुका लागि सञ्चालन गरेको ग्रामीण अल्ट्रासाउण्ड शिविरबाट १ सय ११ जना आमाहरुले सेवा लिएका छन् । मंसिर अन्तिम साता विभिन्न स्वास्थ्य संस्थाहरुमा सञ्चालन भएको शिविरमा गर्भवती आमाहरुले सेवा लिएको सुर्नया गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत हेल्थ असिष्टेन्ट किरन चन्दले जानकारी दिए ।
गर्भावस्थामा हुन सक्ने जटीलताहरुको बारेमा समयमै थाहा पाएर मातृ तथा शिशु मृत्यु रोक्नका लागि अल्ट्रासाउण्ड शिविर सञ्चालन गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
गएको मंसिर २४ गते वडा नं ५ स्थित रौलेश्वर स्वास्थ्चौकीमा सञ्चालन भएको शिविरमा २३ जना आमाहरुले सेवा लिएका थिए भने मंसिर २५ गते वडा नं ४ स्थित भौनेली स्वास्थ्यचौकीमा सञ्चालन भएको शिविरबाट ४५ जना आमाहरुले सेवा लिएका थिए ।
यस्तै मंसिर २६ गते वडा नं ३ स्थित वासुलिंग स्वास्थ्यचौकीमा सञ्चालन भएको शिविरबाट १८ जनाले सेवा लिएका थिए भने मंसिर २७ गते वडा नं २ स्थित वासुदेव आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरबाट १९ जना आमाले सेवा लिएका थिए ।
मंसिर २८ गते वडा नं १ स्थित हटैराज स्वास्थ्यचौकीमा सञ्चालन भएको शिविरबाट ६ जना आमाले सेवा लिएको हेल्थ असिष्टेन्ट चन्दले बताए ।
गाउँपालिकाका बाँकी रहेका वडाहरुमा मंगलबारदेखि अल्ट्रासाउण्ड शिविर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
पौष ३ गते वडा नं ८ स्थित भूमीराज आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन हुनेछ भने पौष ४ गते शिखरपुर स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुनेछ । यस्तै पौष ५ गते वडा नं ७ स्थित शिखरपुर सामुदायिक स्वास्थ्य इकाइमा शिविर सञ्चालन हुनेछ भने पौष ६ गते वडा नं ६ स्थित शंकरपुर स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने बताइएको छ ।
शिविरमा आएर सेवा लिन वडाका गर्भवती आमाहरुलाई आग्रह समेत गरिएको छ । अल्ट्रासाउण्डबाट पेटभित्र रहेको बच्चाको अवस्था र आमाको स्वास्थ्य अवस्थाको बिषयमा थाहा हुने भएकाले निशुल्क रुपमा शिविर सञ्चालन गर्दै आएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।




