बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ७ कठमडास्थित शिखरपुर स्वास्थ्यचौकीबाट चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा शुरु भएको छ ।
सोमबार एक कार्यक्रमकाबीच स्वास्थ्य संस्थाबाट प्रदान गरिने चौबिसै घण्टा आकस्मिक सेवाको शुरुवात गरिएको छ । गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुबाट आकस्मिक स्वास्थ्य सेवा चौबिसै घण्टा उपलब्ध गराउने नीति अनुरुप शिखरपुर स्वास्थ्यचौकीबाट चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए ।
स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं सुर्नया गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष भक्तबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवर प्रमुख अतिथी रहेका थिए । उक्त कार्यक्रममा सुर्नया गाउँपालिकाका प्रवक्ता प्रतापसिंह महरा, वडा नं ८ का वडा अध्यक्ष भानबहादुर बोहरा लगायतको उपस्थिती रहेको थियो ।
दुर्गम क्षेत्रका नागरिकको चौबिसै घण्टा आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि चौबिसै घण्टा सेवा दिने संस्थाको रुपमा शिखरपुर स्वास्थ्यचौकीलाई घोषणा गरिएको स्वास्थ्यचौकीका इञ्चार्ज बीरबहादुर बोहराले बताए ।
यसअघि चौबिसै घण्टा सुरक्षित प्रसूती सेवा प्रदान गर्दै आएको संस्थाले अब अन्य आकस्मिक सेवाहरु पनि चौबिसै घण्टा उपलब्ध गराउने छ ।
सुर्नया गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरुमध्येबाट चौबिसै घण्टा आकस्मिक सेवा उपलब्ध गराउने संस्थाको रुपमा शिखरपुर स्वास्थ्यचौकी पहिलो बनेको छ । इञ्चार्ज बोहराले भने ‘दुर्गमका नागरिकलाई उनीहरुकै घरदैलोमा भएको संस्थाबाट सेवा लिन सहज होस भनेर हामीले संस्थाबाट चौबिसै घण्टा आकस्मिक सेवाको शुरुवात गरेका छौं ।’
गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवामा पालिकाबासीको सहजै पहुँच पुर्याउने वातावरण निर्माण गर्ने लक्ष्य लिएकाले चौबिसै घण्टा आकस्मिक सेवा शुरु भएपछि सहज हुने गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।




