Sagun Khabar
‘ठेउका’को अवैध विक्रिवितरणले ग्रामीण क्षेत्र अशान्त 

बैतडी –बैतडीका ग्रामीण क्षेत्रमा छ्यापछ्याप्ती विक्रि भइरहेको गुणस्तरीहिन मदिराका कारण अशान्ति फैलिएको छ । ठेउकाको अवैध विक्रि वितरणले ग्रामीण क्षेत्रमा महिला तथा बालबालिकाहरुमाथि हिंसा भइरहेको सरोकारवालाहरुले बताएका छन् । 

सस्तो मूल्यमा पाइने र जथाभावी विक्रिवितरण हुने भएकाले ग्रामीण क्षेत्रमा हिंसा तथा अपराधका घटनाका बढेका पाटन नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख बिष्ना भण्डारीले बताइन् । उनले भनिन् ‘अवैध रुपमा कारोबार हुने ठेउकाका कारण धेरै समस्या भएको छ । यसले बालबालिका तथा महिलामाथि हुने हिंसाहरु बढ्दै गएका छन् ।’

ग्रामीण क्षेत्रमा ठेउकाको निर्वाध रुपमा विक्रि भइरहेकाले यसले घरपरिवारमा समस्या निम्त्याइरहेको सिगास ९ की लक्ष्मी शाह चन्दले बताइन् । ग्रामीण क्षेत्रमा बिना इजाजत सञ्चालनमा रहेका मदिरा पसलहरुमा ठेउका छ्यापछ्याप्ती पाइने र यसले समाजमा अशान्ति मच्चाएको उनले बताए । 

अवैध मदिराको कारोबार रोक्नका लागि स्थानीय सरकारहरुले पहल गर्नुपर्ने उनले बताइन् । स्थानीय सरकारहरुले वडादेखि नै कार्यविधि बनाएर मदिराको कारोबार व्यवस्थित गर्नुपर्नेमा चन्दले जोड दिइन् । 

गुणस्तरहीन मदिराको कारोबार रोक्ने र यसलाई नियन्त्रण गर्ने बिषयमा धेरै ठाउँमा छलफल भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । प्रहरीले पनि समुदाय –प्रहरी साझेदारी कार्यक्रममा यो बिषयमा छलफल गर्ने गरेको उनले बताए । उनले भने ‘ठेउकाको कारोबार रोक्नका लागि हामीले पनि पहल गरिरहेका छौं । इजाजत नलिइ विक्रि गर्नेहरुलाई विक्रि बन्द गर्न लगाउँछौं । इजाजत लिएर विक्रि गरिरहेकाहरुसंग पनि यसको नियन्त्रण कसरी गर्न सकिन्छ भनेर छलफल चलाउँछौं ।’

गएको तीन बर्षमा बैतडीमा ४९ जना महिला तथा बालबालिका बलात्कारको शिकार भएको प्रहरीको तथ्यांक छ । चालु आर्थिक बर्षको मंसिर मसान्तसम्म प्रहरीमा ९ ओटा बलात्कार घटना दर्ता भएका छन् । यस्तै गएको तीन बर्षमा ४७ जना महिला तथा किशोरीहरुले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । 

यस्ता खालका अपराध बढ्नुमा पनि अवैध मदिराको कारोबारले सहयोग गरिरहेको प्रहरीको निष्कर्ष छ । महिला तथा बालबालिकाहरुमाथि हुने विभिन्न खालका हिंसामा मदिरा प्रमुख कारक नै रहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । उनले भने ‘मदिराको कारण विभिन्न खालका हिंसाहरु भइरहेका छन् । यसको नियन्त्रण र नियमनका लागि हामीले पहल गरिरहेका छौं ।’
 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update