बैतडी–बैतडीको मेलौली नगरपालिका –२ स्थित सलेना स्वास्थ्यचौकीबाट अब चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा पाइने भएको छ । यसअघि चौबिसै घण्टा सुरक्षित प्रसूती सेवा प्रदान गर्दै आएको स्वास्थ्यचौकीले अब अन्य आकस्मिक स्वास्थ्य सेवा पनि चौबिसै घण्टा उपलब्ध गराउने मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए ।
सलेना स्वास्थ्यचौकीबाट चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवाको मंगलबार एक कार्यक्रमकाबीच उद्दघाटन गरिएको छ । ग्रामीण क्षेत्रका नागरिकलाई सहज होस भनेर चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख चन्दले बताए ।
स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं मेलौली नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्णदत्त भट्टको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरेर चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवाको शुरुवात गरिएको हो ।
मेलौलीकै विशालपुर स्वास्थ्यचौकी र महारुद्र स्वास्थ्यचौकीबाट पनि चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्ने तयारी भएको स्वास्थ्य शाखा प्रमुख चन्दले बताए ।




