Sagun Khabar
पाटन–पञ्चेश्वर सडकको ‘जिरो प्वाइन्ट’मा स्थानीयको अवरोध, स्तरोन्नती गर्नुपर्ने माग 

बैतडी –बैतडीको पाटन–पञ्चेश्वर सडकको ‘जिरो प्वाइन्ट’मा स्थानीयहरुले अवरोध गरेका छन् । पाटन बसपार्कदेखि उदयदेव मन्दिर सम्मको खण्डमा स्थानीयहरुले सडक अवरुद्ध गरेका हुन् । 

सडकको जिरोप्वाइन्टदेखि तीन किलोमिटर सम्म स्तरोन्नती नभएकाले स्तरोन्नतीको माग गर्दै स्थानीयहरुले सडक अवरुद्ध पारेका हुन् । 

सडकमा भएको धुलोका कारण जनजीवन प्रभावित भएको भन्दै टुँडेगैर र बगरका स्थानीयहरुले सडकमा आवागमनका रोक लगाएका हुन् । धुलोले बाटोमा हिड्न नसक्ने अवस्था आएको र बस्तीमा समेत असर पारेको भन्दै स्थानीयहरुले सडक अवरुद्ध गरेको पाटन नगरपालिका ६ वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले बताए । 

सडक स्तरोन्नती नहुँदा विद्यालय जाने बालबालिका लगायत अन्य नागरिक समेत प्रभावित भएका स्थानीयहरुको भनाइ रहेको छ । धुलाम्य सडकले बस्तीमा समेत असर पुर्याएको उनीहरुले बताएका छन् । 

नगरपालिकाका तर्फबाट धुलाम्य सडकमा पानी हाल्नुबाहेक तत्कालका लागि केही गर्न सकिने अवस्था नरहेको वडा अध्यक्ष बिष्टले बताए । 

यता पूर्वाधार विकास कार्यालय बैतडीका इन्जिनियर नरेश भुलले सो खण्डको स्तरोन्नतीका लागि पहल भइरहेको बताए । सडकको नाप,जाँचका लागि प्राविधिक टोली खटिसकिएको र स्तरोन्नतीको काम अघि बढ्ने उनले बताए । 

हालै मात्र सो खण्ड पूर्वाधार विकास कार्यालय मातहत आएकाले त्यसको नापजाँच गरेर स्तरोन्नतीको काम अघि बढाइने इन्जिनियर भुलले बताए । सडक स्तरोन्नतीको काम शुरु गर्न ३ महिना लाग्न सक्ने उनको भनाइ छ । 

सडक स्तरोन्नतीको स्टमेट बनाएर मन्त्रालयमा पेश गर्ने र मन्त्रायलबाट स्वीकृत भएपछि ठेक्का आह्वान गरेर स्तरोन्नतीको काम अघि बढ्ने उनले बताए । उनले भने ‘हामीले पाटन –पञ्चेश्वर सडकको जिरो प्वाइन्टदेखिको सडक स्तरोन्नतीका लागि नाप जाँच काम शुरु गरिसकेका छौं । त्यसलाई स्टमेट बनाएर अघि बढाउने प्रयासमा रहेका छौं ।’
 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update