बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका र शिवनाथ गाउँपालिकाले नेपाली सेनालाई जग्गा उपलब्ध गराएको छ ।
नेपाली सेनालाई बासस्थान, बन्दोवस्ती तथा तालिम प्रयोजनको लागि नगरपालिकाले जमीन उपलब्ध गराएको पुर्चौंडी नगरपालिकाका नगर प्रमुख दिपकबहादुर बमले बताए ।
पुर्चौंडी नगरपालिका वडा नं ३ नकाली चौखुट्टेमा रहेको १८० रोपनी सार्वजनिक जग्गा नेपाली सेनालाई उपलब्ध गराउने निर्णय नगर कार्यपालिकाको बैठकबाट पास भएको नगर प्रमुख बमले बताए । कार्यपालिकाको निर्णय अनुसार बैतडीमा रहेको नेपाली सेनाको हनुमानध्वज गुल्मलाई समेत पत्राचार गरिसकिएको बमले बताए ।
यस्तै शिवनाथ गाउँपालिकाले पनि नेपाली सेनाका लागि ६ सय रोपनी भन्दा बढी सार्वजनिक जग्गा उपलब्ध गराएको छ । शिवनाथ गाउँपालिका ३ स्थित छेलामा रहेको ६ सय १५ रोपनी जमीन नेपाली सेनालाई उपलब्ध गराएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।
गाउँकार्यपालिकाले निर्णय गरेर नेपाली सेनालाई जमीन उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए ।
नेपाली सेनालाई बासस्थान, बन्दोवस्ती तथा तालिम प्रयोजनका लागि जग्गा उपलब्ध गराउन स्थानीय तहहरुलाई पत्राचार गरिएको बैतडीस्थित हनुमानध्वज गुल्मका गुल्मपति सेनानी प्रह्लाद थापाले बताए । जग्गा दिएका पालिकाहरुको पत्र आफूकहाँ पुगेको र अब प्रक्रिया अघि बढाइने उनले बताए ।




