बैतडी–बैतडीको पुर्चौंडी नगरपालिकाले सेवाग्राहीहरुको सहजताका लागि नगरपालिकाको प्रवेशद्वारामा नागरिक सहायता कक्ष स्थापना गर्ने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएपछि कार्यभार सम्हालेकै दिन बिहीबार प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरको अध्यक्षतामा बसेको कर्मचारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
जनप्रतिनिधिहरु समेतको उपस्थितीमा बसेको स्टाफ बैठकले नगरबासीका गुनासा सुनुवाई गर्नका लागि कार्यालयमा कार्यरत खरीदार राजेन्द्रबहादुर धानुकलाई गुनासो सुनुवाई अधिकारीको रुपमा थप जिम्मेवारी दिने निर्णय गरेको छ ।
यस्तै नगरपालिकाभित्र सञ्चालन हुने हरेक कार्यक्रममा सुशासन कायम गर्नका लागि एकीकृत अनुगमन गर्ने निर्णय समेत पारित भएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले बताए ।
यस्तै विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध नभएका कारण सामाजिक सुरक्षाभत्ता वितरण हुन नसकेकाले पौष १५ गतेभित्र सबै विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गरेर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने निर्णय भएको छ । यस्तै दीर्घ तथा कडा रोगबाट प्रभावित विपन्न समुदायका लाभग्राहीहरुले पाउनुपर्ने उपचारबाफतको रकम भुक्तानी नभएकाले उक्त रकम सम्बन्धित लाभग्राहीहरुलाई यथाशीध्र उपलब्ध गराउने निर्णय भएको छ ।
यस्तै पालिकाभित्रका विद्यालयहरुमा कार्यरत शिक्षक÷कर्मचारीहरुको तलब त्रैमासिक रुपमा भुक्तानी हुँदै आएकोमा माघ महिनादेखि मासिक रुपमा भुक्तानी गर्ने निर्णय समेत भएको प्रमुख प्रशासकीय अधिकृत कुँवरले बताए ।
यस्तै यसअघि अपांगता परिचय पत्र पाउनका लागि योग्य भएका व्यक्तिहरुलाई पौष १० गतेदेखि अपांगता परिचय पत्र वितरण गर्ने निर्णय समेत भएको प्रमुख प्रशासकीय अधिकृत कुँवरले बताए ।
बैठकमा नगर प्रमुख दिपकबहादुर बम र उपप्रमुख मीना धानुकको समेत उपस्थिती रहेको थियो ।
विगत दुई महिनादेखि पुर्चौंडी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक कामहरु रोकिएका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कुँवरलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएसंगै ती कामहरु सुचारु भएका छन् ।
आफूले कानुनको मातहत रहेर नगरपालिकाको काम सम्पादन गर्ने प्रमुख प्रशासकीय अधिकृत कुँवरले बताए । नगरपालिकाले तय गरेका नीति, कार्यक्रम र बजेट कार्यान्वयनमा आफूले ध्यान दिने उनले बताए ।
सुशासनयुक्त नगरपालिका बनाउन आफूले सक्दो पहल गर्ने बताउँदै प्रमुख प्रशासकीय अधिकृत कुँवरले यसमा सबैको सहयोग रहने विश्वास समेत व्यक्त गरेका छन् ।





