Sagun Khabar
सुर्नयाले दीर्घरोगीहरुको तथ्यांक संकलन गर्दै,जेष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण  

बैतडी– बैतडीको सुर्नया गाउँपालिकाले प्रत्येक वडाका घरघरमा पुगेर नसर्ने तथा दीर्घरोगीहरुको तथ्यांक संकलन गर्न थालेको छ । पालिकाभरी रहेका दीर्घरोगीहरुको पहिचान गरेर उनीहरुलाई पालिकाका तर्फबाट सहयोग गर्ने कार्यक्रम रहेको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । 

प्रत्येक वडाका घरघरमा स्वास्थ्यकर्मीहरु पुगेर दीर्घरोगीहरुको पहिचान गर्ने कार्यक्रम रहेको छ । बिशेष गरेर जेष्ठ नागरिकहरु यस्ता समस्याबाट पीडित हुने भएकाले यो कार्यक्रम सञ्चालन गरिएको महराले बताए । 

गाउँपालिकाको वडा नं ८ मा कार्यक्रम शुरु गरिएको छ भने अन्य वडाहरुमा चाँडै कार्यक्रम सञ्चालनमा ल्याइने स्वास्थ्य शाखा प्रमुख महराले बताए । उनले भने ‘हामीले दीर्घरोगीहरुलाई लक्षित गरेर तथ्यांक संकलन गरिरहेका छौं । पालिकाको तर्फबाट उनीहरुको उपचारमा सहयोग गर्छौं ।’

क्यान्सर, दम, मधुमेह,प्रेसर जस्ता नसर्ने रोगहरुको जोखिम बढ्दै गएपछि पालिकाले घरमै पुगेर दीर्घरोगीहरुको तथ्यांक संकलन कार्यक्रम सञ्चालनमा ल्याएको हो । पछिल्लो समयमा नसर्ने रोगहरुको जोखिम बढ्दै गएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

पालिकाभरी जेष्ठ नागरिकहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यसहित घरमै पुगेर तथ्यांक संकलनको कार्यक्रम राखिएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update