बैतडी–बैतडीमा चिउरी उद्योग प्रवद्र्धनका लागि अनुदान दिइने भएको छ । घरेलु तथा साना उद्योग कार्यालयले चिउरी उद्योग प्रवद्र्धनका लागि अनुदान दिने र यसका लागि प्रस्ताव आह्वान गरेको जनाएको छ ।
चालु आर्थिक बर्षको बार्षिक स्वीकृत कार्यक्रम अनुुसार चिउरी उद्योग प्रवद्र्धनका लागि ५ लाख अनुदान दिइने घरेलु तथा साना उद्योग कार्यालय बैतडीका प्रमुख अम्बादत्त जोशीले बताए ।
पहिलो पटक मंसिर ८ मा सूचना प्रकाशन गरेको भएपनि कसैको आवेदन नपरेपछि फेरि पौष १ गते दोश्रो पटक प्रस्ताव आह्वान गरिएको छ । यही पौष १५ गतेभित्र इच्छुक उद्यमीहरुले अनुदानका लागि प्रस्ताव पेश गर्न सक्ने कार्यालय प्रमुख जोशीले बताए ।
बैतडीमा चिउरी उद्योगको सम्भावना रहेकाले चिउरी उद्योग प्रवद्र्धनका लागि अनुदान दिने तयारी भएको हो । गत बर्ष पनि एकजना उद्यमीलाई अनुदान दिइएको कार्यालय प्रमुख जोशीले बताए ।
जिल्लामा अहिले सम्म तीनओटा चिउरी उद्योग दर्ता रहेका घरेलु तथा साना उद्योग विकास कार्यालय बैतडीले जनाएको छ । यो बर्ष पनि एक उद्योगलाई अनुदान दिइने कार्यालय प्रमुख जोशीले बताए ।
प्रस्ताव पेश गर्दा आवश्यक कागजातहरु पुर्याएको र सञ्चालनमा रहेको उद्योगलाई प्राथमिकता राखिने बताइएको छ ।
चिउरीबाट घिउ,साबुन लगायतका सामग्रीहरु उत्पादन गर्न सकिने भएपनि यो तर्फ ध्यान जान सकेको छैन् । बैतडीमा चिउरी उद्योगको प्रशस्त सम्भावना रहेपनि खासै उद्योगहरु भने सञ्चालनमा आउन सकेका छैनन् ।
चिउरी उद्योगहरुलाई प्रवद्र्धन गर्नका लागि कार्यालयले पहल गरिरहेको कार्यालय प्रमुख जोशीले बताए । उनले भने ‘हामीले स्थानीयस्तरमा रहेका घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौं ।यो बर्ष पनि चिउरी उद्योग प्रर्वद्धनका लागि अनुदान दिनेछौं । यसका लागि प्रस्ताव आह्वान गरेका छौं ।’





