Sagun Khabar
बैतडीको ढोलेमा विद्युत विस्तार 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका ८ स्थित ढोलेमा विद्युत विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय लाइन विस्तारका लागि ट्रान्सफर्मर जडान गरेर ढोले क्षेत्रमा विद्युत प्रवाह शुरु भएको हो । 

ग्रामीण क्षेत्रमा विद्युत विस्तार गर्ने प्राधिकरणको योजना अनुसार ढोल क्षेत्रमा विद्युत विस्तारका लागि ट्रान्सफर्मर जडान गरि विद्युत प्रवाह शुरु गरिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए । 

ट्रान्सफर्मरमा विद्युत प्रवाह भइसकेको र घरधुरीहरुमा केही दिनमा विद्युत विस्तार गरिने उनले बताए । 

विद्युत लाइन तान्ने काम सम्पन्न भइसकेकाले स्थानीयहरुलाई मिटर उपलब्ध गराएपछि घरघरमा विद्युत प्रवाह हुने नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पौडेलले बताए । 

ढोले क्षेत्रमा ट्रान्सफर्मरमा विद्युत जडान भएपछि स्थानीय नागरिक खुसी भएका छन् । घरघरमा विद्युत विस्तार हुने भएपछि स्थानीय नागरिक खुसी भएका त्यहाँका स्थानीय भानबहादुर बोहराले बताए । उनले भने ‘दुर्गम क्षेत्रमा बत्ती बल्ने भएपछि स्थानीयबासीहरु खुसी भएका छन् । विद्युत प्राधिकरण, जनप्रतिनिधि सबैको सहयोगबाट विद्युत बाल्न सफल भएका छौं ।’

ढोले क्षेत्रमा ट्रान्सफर्मरमा विद्युत जडान भएपछि त्यो क्षेत्रका ३ सय बढी घरधुरी लाभान्वित हुने बताइएको छ । 

वडा नं ८ को ढोले, दोरा लगायतका सबै टोलमा विद्युतीकरण गर्ने प्रयास भइरहेको सुर्नया गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष भानबहादुर बोहराले बताए । टोल–टोलमा विद्युतीकरण गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै वडा अध्यक्ष बोहराले दुईतीन महिनाभित्रै सबै टोलमा विद्युत विस्तार हुने बताए । 

बैतडीमा ग्रामीण क्षेत्रमा विद्युतीकरणको काम तीव्र रुपमा अघि बढेको दाबी गरिएको छ । जिल्लाको तल्लोसोराड क्षेत्रका शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका बस्तीहरुमा विद्युत विस्तारको काम भइरहेकाले विद्युतमा पहुँच हुने घरपरिवारको संख्या बढ्ने नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पौडेलले बताए । बैतडीमा अहिले २२ हजार बढी विद्युतका ग्राहक रहेका छन् । २०७८ सालको जनगणना अनुसार बैतडीमा ४९ हजार ४२८ घरपरिवार रहेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update