बैतडी –बैतडीका चारसहित सुदूरपश्चिमका ५८ ओटा पालिका नवप्रर्वतन कार्यक्रम सञ्चालनका लागि अनुदान पाउन छनौट भएका छन् ।
स्थानीय तहको दीगो आर्थिक विकास प्रर्वद्धन गर्दै आर्थिक विकासका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्तन कार्यविधि अनुसार ससर्त अनुदान पाउन योग्य स्थानीय तहहरु छनौट गरेको हो ।
मन्त्रालयले बैतडीका दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका र सिगास गाउँपालिकालाई अनुदानका लागि छनौट गरेको छ । देशभर ४६२ ओटा स्थानीय तह यो कार्यक्रमका लागि छनौट भएका छन् ।
सुदूरपश्चिमको कैलालीका १०, कञ्चनपुरका ८, दार्चुलाका ८,बझाङका ७, अछामका ७, डोटीका ६, बैतडी, डडेल्धुरा र बाजुराका चार÷चारओटा स्थानीय तह छनौटमा परेका छन् ।
मन्त्रालयले नवप्रर्वतन कार्यविधि अनुसारका योजना संचालन गरेवापत पाउने ससर्त अनुदानका लागि योग्य भएको भन्दै पालिकाहरुको सूची सार्वजनिक गरेको हो ।
मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा बित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविध बमोजिम मूल्यांकन गरेको, गत आथिक वर्षमा स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनमा भाग लिइ तोकिएको समयमा स्वमूल्यांकन गरेका स्थानीय तहलाई शसर्त अनुदान पाउन योग्यका रुपमा सुचीकरण गरेको जनाएको छ ।
त्यसैगरी गत आर्थिक वर्षमा तोकिएको समयमै बजेट ल्याएका र पछिल्लो आर्थिक वर्षमा महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार ५ प्रतिशतभन्दा बढी बेरुजु नभएका स्थानीय तहले मात्र नवप्रवर्तनमा आधारित कार्यक्रम संचालनका लागि शसर्त अनुदानको रकम पाउने भएका हुन् । छनौट भएका पालिकाहरुले २ देखि ५ लाख सम्म अनुदान पाउने बताइएको छ ।




