बैतडी –आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेस बैतडीले सबै क्लस्टरमा उम्मेदवारहरुको नाम सिफारिश गरी पठाएको छ । कांग्रेसको केन्द्रीय समितिको निर्देशन अनुसार सबै क्लस्टरमा आकांक्षी उम्मेदवारहरुको नामावली सुदूरपश्चिम प्रदेश कार्यसमितिमा पठाएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए ।
खुल्लातर्फबाट कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दसहित ६ जनाको नाम सिफारिश गरिएको छ । प्रतापसिंह ठगुन्ना, लोकराज अवस्थी, इ.दिनेश भट्ट, सुरेन्द्र चन्द र सुरेन्द्र ऐरको नाम सिफारिश गरिएको जोशीले बताए ।
सभापति चन्द यसअघि प्रतिनिधि सभाको निर्वाचनमा समेत उम्मेदवारका आकांक्षी रहेका थिए । माओवादीसंग गठबन्धन भएपछि बैतडीमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार माओवादीबाट बनाइएको थियो । यस्तै २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा पनि उनी आकांक्षी रहेका भएपनि टिकट पाउन सकेका थिएनन् ।
यस्तै महिलातर्फ नेपाल महिला संघ बैतडीका अध्यक्ष समेत रहेकी देवु ठगुन्नाको नाम सिफारिश गरिएको छ भने अल्पसंख्यक तथा अपांगतातर्फ राजेन्द्रप्रसाद कलौनीको नाम सिफारिश गरिएको जोशीले बताए ।
प्रदेश कार्यसमितिले सिफारिश भएका नामहरु केन्द्रमा पठाउने र केन्द्रले उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ ।




