Sagun Khabar
गाँजरीदेखि गर्जे सडक निर्माण हुनुपर्ने संघर्ष समितिको माग 

बैतडी–बैतडीको सिगास गाउँपालिकाको केन्द्र जोड्ने सडक यथाशीघ्र निर्माण गर्न वडा नं १ का नागरिकहरुले आग्रह गरेका छन् । दुदिलाखान–गाँजरी –गर्जे सडक संघर्ष समिति गठन गरेर उनीहरुले गाउँपालिका, वडा कार्यालय र प्रहरीचौकी गाँजरीलाई ज्ञापन पत्र बुझाएका छन् । 

वडा नं १ र २ का स्थानीयहरुले गाउँपालिकाको केन्द्र पुग्नका लागि ९÷१० घण्टा हिड्नुपर्ने बाध्यता रहेकाले आफूहरुले सडक निर्माणको काम गर्न माग गरेको संघर्ष समितिका संयोजक पवन चन्दले बताए । 

स्थानीय तहमा जनप्रतिनिधिहरु दोश्रो पटक निर्वाचित भएर आइसक्दा समेत गाउँपालिकाको केन्द्र गर्जे जोड्ने सडक निर्माण नभएकाले संघर्ष गर्नुपर्ने चन्दले बताए । आफूहरुले सडक निर्माणको काम सातदिनभित्र अगाडि बढाउन माग राखेको चन्दले बताए । उनले भने ‘हामीलाई गाउँपालिकाको केन्द्र पुग्ने सडक नहुँदा समस्या भएको छ । हाम्रो माग पूरा गरिदिन सम्बन्धित निकायलाई आग्रह गर्दछौं ।’

कोटीला–धौलाडी हुँदै गर्जे सडकको काम समेत अघि नबढेकाले आफूहरुले कुर्चेनेटा हुँदै गर्जेसम्मको सडक अघि बढाउन माग गरेको चन्दले बताए । उनले भने ‘हामीलाई जुनसुकै ठाउँबाट भएपनि गाउँपालिकाको केन्द्रमा पुग्ने सडक हुनुपर्छ । हामीलाई सडक सुविधाबाट वञ्चित गराउन पाइँदैन् भन्ने हाम्रो माग हो ।’

गाउँपालिकाको केन्द्र गर्जे जोड्ने सडक निर्माणका बिषयमा विवाद हुँदा काम अघि बढीरहेको छैन् । कुर्चेनेटा हुँदै गर्जे सडक निर्माण गर्दा वनजंगल विनाश भएर पानीका मूहान सुक्ने त्यहाँका स्थानीयहरुको भनाइ रहेको छ भने कोटिला–धौलाडी सडक चट्टानका कारण अघि बढ्न नसकेको बताइएको छ । 

सडक निर्माण हुने अवस्था नभए गाउँपालिकाको वडा नं १ र २ लाई पाटन नगरपालिकामा गाभ्नका लागि आग्रह गरिएको संघर्ष समितिका संयोजक चन्दले बताए । स्थानीय तह भएपछि घरदैलोमै सेवा पाइने भनिएको थियो तर हामीहरुलाई झन् समस्या भएको छ । समस्या समाधानका लागि सबै निकायहरुलाई आग्रह गरिरहेको चन्दले बताए । 

गाउँपालिका, वडा कार्यालय र प्रहरीचौकी सिगासमा ज्ञापन पत्र बुझाएको समितिले जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिमा समेत ज्ञापन पत्र बुझाउने तयारी गरिरहेको छ । आइतबार जिल्ला प्रशासन र समन्वय समितिमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको चन्दले बताए । 

gyapan 11703316252.jpg

gyapan1703316222.jpg

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update