Sagun Khabar
दुदिलाखान –गाँजरी–गर्जे सडक संघर्ष समितिले प्रशासन र समन्वय समितिलाई  बुझायो ज्ञापन पत्र 

बैतडी–बैतडीको सिगास गाउँपालिकाको गर्जे जोड्ने सडक निर्माणको माग राख्दै गठन भएको संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई ज्ञापन पत्र पत्र बुझाएको छ । 

सिगास गाउँपालिका वडा नं १ का स्थानीयहरुले गठन गरेको संघर्ष समितिले पालिकाको केन्द्र जोड्ने सडक निर्माण हुनुपर्ने भन्दै संघर्ष समिति गठन गरेका हुन् । यसअघि गाउँपालिका, वडा कार्यालय र गाँजरी प्रहरीचौकीलाई ज्ञापन पत्र बुझाएको संघर्ष समितिले आज जिल्ला प्रशासन कार्यालय र समन्वय समितिलाई ज्ञापन पत्र बुझाएको हो । 

सिगास गाउँपालिका वडा नं १ र २ का बासिन्दालाई गाउँपालिकाको केन्द्र गर्जे पुग्न ९÷१० घण्टा पैदल हिड्नुपर्ने बाध्यता रहेकाले आफूहरुको माग सम्बोधनका लागि सहजीकरण गर्न भन्दै प्रशासन र समन्वय समितिमा ज्ञापन पत्र बुझाएको संघर्ष समितिका संयोजक पवन चन्दले बताए । 

सिगास गाउँपालिकाको केन्द्र गर्जे जोड्ने एक सडक वडा नं २ को कुर्चेनेटा पुगिसकेको छ । स्थानीयहरुको अवरोधका कारण उक्त सडक अगाडि बढ्न सकेको छैन् । यस्तै कोटिला–धौलाडी हुँदै अर्को सडक निर्माण भइरहेको भएपनि चट्टानका कारण निर्माण कार्य रोकिएको छ । 

कुनै पनि सडक गाउँपालिकाको केन्द्रमा नपुगेपछि आफूहरुलाई समस्या भएको संघर्ष समिति संयोजक चन्दले बताए । कुर्चेनेटादेखि गर्जे सडक विस्तार गर्न आफूहरुले माग गरेको उनको भनाइ छ । 

सडक निर्माण नगरे सिगास गाउँपालिकाको वडा नं १ र २ लाई पाटन नगरपालिकामा गाभिदिन आग्रह गरेको चन्दले बताए । 

संघर्ष समितिको निवेदन जिल्ला प्रशासन कार्यालयमा पुगेको र मागका बिषयमा गाउँपालिका र अन्य सरोकारवाला निकायहरुसंग समन्वय गरिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए । 
 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update