Sagun Khabar
पाताल भुवनेश्वर गुफा भित्र पुगेर फर्कियो गुफा बिशेषज्ञसहितको टोली 

बैतडी –दक्षिण एसीयाकै लामो भनिएको बैतडीको सुर्नया गाउँपालिका २ स्थित पाताल भुवनेश्वर गुफाभित्र पुगेर गुफा बिशेषज्ञसहितको टोली फर्किएको छ । टोली गुफाको झण्डै डेढ किलोमिटर भित्र पुगेर फर्किएको हो । 

आइतबार दिउँसो १ बजेर ११ मिनेटमा गुफा बिशेषज्ञ बेलायतका पिटर एलिसन उनका सहयोगी बाङ्लादेशका आरिफ गोइया र स्थानीयहरु गरेर ५ जनाको टोली गुफाभित्र गएको थियो । 

यसअघि फ्रान्सेली गुफा विषेशज्ञको टोली पुगेको ठाउँभन्दा थप गहिराइमा आजको टोली पुगेको गुफाका बारेमा स्थानीय जानकार कैलाश चन्दले बताए । पानीको भेलले बगाएर गुफाभित्र लगेको पातपतिंगरका कारण टोली भित्र जान नसकेको जानकारी आएको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । 

गुफाभित्र पसेका बेलायती गुफा बिशेषज्ञ पिटर एलिसनले गुफाको गहिराई धेरै रहेको बताएका छन् । गुफाको अन्तिम बिन्दु पत्ता लगाउन त्यति सजिलो नभएको उनले बताए । 

२०७२ सालमा जर्मन गुफा बिशेषज्ञहरुको टोलीले करिब ८ सय मिटर गहिराइमा पुगेर फर्किएको थियो । 

जर्मन गुफा विशेषज्ञको टोलीले पनि गुफाको अन्तिम बिन्दु पत्ता लगाउन सकेको थिएन । करिब ३ हजार मिटरभन्दा बढी लामो गुफा रहेको त्यतीबेला नै दाबी गरिएको थियो । 

गुफा बिशेषज्ञ एलीसन लगायतको टोलीलाई आज पाताल भुवनेश्वर धाम परिसरमा स्वागत समेत गरिएको थियो । गुफाभित्र पस्नुभन्दा पहिला सुर्नया गाउँपालिकाका तर्फबाट ढाका टोपी र दोसल्ला ओढाएर स्वागत गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।

युट्युबबाट जानकारी पाएर बेलायती गुफा बिशेषज्ञ एकजना बंगलादेशी सहयोगी सहित बैतडी पुगेका र उनी केही दिन बैतडीमै बस्ने अध्यक्ष कुँवरले बताए । 

धार्मिक तथा प्राकृतिक हिसाबले निकै महत्वपूर्ण मानिएको पाताल भुवनेश्वर धाम यहाँ मुख्य धार्मिक पर्यटकीय क्षेत्रको रुपमा समेत रहेको छ । 

पाताल भुवनेश्वर क्षेत्रमा कहिले नसुक्ने प्राकृतिक ताल रहेको छ भने ठूलो गुफा समेत रहेको छ ।    
 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update