Sagun Khabar
सुदूरपश्चिम कानुन विद्यार्थी समाजको अध्यक्षमा दिपक जोशी 

बैतडी –सुदूरपश्चिम कानुन विद्यार्थी समाजको अध्यक्षमा दिपक जोशी सर्वसम्मत चयन भएका छन् । काठमाण्डौंमा शनिबार सम्पन्न भएको समाजको तेश्रो साधारण सभाले जोशीको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तड घर भएका जोशी हाल कञ्चनपुर बस्दै आएका छन् । पछिल्लो समय उनी काठमाण्डौंमा बसेर अध्ययन तथा अन्य कार्य गर्दै आएका छन् । 

समितिको उपाध्यक्षमा चार जना चयन भएका छन् । दीर्घ रोकाया, शाकाराम कुञ्जडा, भूमिका बिष्ट र निलम बोहरा समितिको उपाध्यक्षमा सर्वसम्मत चयन भएका अध्यक्ष जोशीले बताए । यस्तै समितिको महासचिवमा सदीक्षा बम, सचिवमा छत्रबहादुर रोकाया, मनिष बोहरा, अनमोल बजाल र विष्णु परियार चयन भएका छन् । 

समितिको कोषाध्यक्षमा स्मारिका बिष्ट चयन भएकी छन् भने केन्द्रीय कार्यक्रम संयोजकमा रेवन्त ढकाल चयन भएका छन् । यस्तै समितिको प्रवक्तामा चेतन जेठारा चयन भएका अध्यक्ष जोशीले बताए । 

समितिको कार्यकाल एक बर्ष रहने व्यवस्था गरिएको छ । सुदूरपश्चिम घर भई देशका विभिन्न क्षेत्रमा कानुन बिषय अध्ययन गरिरहेका विद्यार्थीहरुको साझा संस्थाको रुपमा सुदूरपश्चिम कानुन विद्यार्थी समाज रहेको अध्यक्ष जोशीले बताए । 

समाजले कानुनका क्षेत्रमा विभिन्न काम गर्दै आएको र अबका दिनमा पनि कानुनी सचेतनाका लागि कार्यक्रमहरु गर्ने उनले बताए । सुदूरपश्चिमका स्थानीय तहमा रहेका न्यायिक समितिहरुसंग मिलेर कानुनी सचेतनाका कार्यक्रम सञ्चालन गर्ने आफूहरुको योजना रहेको अध्यक्ष जोशीले बताए । 

यसअघि पनि सुदूरपश्चिमका विभिन्न पालिकाहरुमा कानुनी साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरेको समितिले विद्यालयहरुमा समेत कानुनी साक्षरता कक्षाहरु सञ्चालन गर्दै आएको छ । 

यस्तै डडेल्धुरा घर भएका पूर्व प्रधानन्यायधिश रत्नबहादुर बिष्टको सम्झनामा लेक्जर सिरिज सञ्चालन गरेको समाजले शहीद दशरथ चन्दको स्मृतिमा हरेक बर्ष कानुनी हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्दै आएको छ । 

यस्तै संविधान दिवसको अवसरमा सर्वोच्च अदालतका न्यायधिशहरुसंग प्यानल डिस्कस समेत समाजले सम्पन्न गरेको थियो । 
 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update