Sagun Khabar
बैतडीको खोड्पेमा ट्रमा सेन्टर अलपत्र 

बैतडी–बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा ट्रमा सेन्टरको भवन निर्माण भएको भएपनि सञ्चालनमा आउन सकेको छैन् । चार बर्ष अघि संघीय सरकारले खोड्पेमा ट्रमा सेन्टर निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । 

दार्चुला, बैतडी र बझाङको समेत केन्द्र रहेको खोड्पेमा सडक दुर्घटनाका घाइते तथा अन्य विपद्मा परेर घाइते भएकाहरुको आकस्मिक उपचारका लागि ट्रमा सेन्टर निर्माण गरिएको हो । भवन निर्माण भएको एक बर्ष बितिसक्दा समेत आवश्यक उपकरण र जनशक्तिको अभावमा ट्रमा सेन्टर सञ्चालनमा आउन सकेको छैन् ।

संघीय सरकारको ५० लाख र नगरपालिकाको १० लाख गरेर ६० लाखको लागतमा भवन निर्माण गरिएको भएपनि आवश्यक उपकरण र जनशक्तिको अभावमा ट्रमा सेन्टर सञ्चालनमा आउन नसकेको पाटन नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए । उनले भने ‘भवन निर्माण भएको छ । तर सञ्चालनमा आउन सकेको छैन् । जनशक्ति र उपकरणको अभाव रहेको छ ।’

ट्रमा सेन्टर सञ्चालनका लागि वडाले नगरपालिकालाई र नगरपालिकाले प्रदेश तथा संघ सरकारलाई बेलाबेलामा पत्राचार गरेको भएपनि सञ्चालन हुन नसकेको वडा अध्यक्ष बिष्टले बताए । भौतिक संरचना निर्माण भएपनि आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन नहुँदा ट्रमा सेन्टर अलपत्र परेको वडा अध्यक्ष बिष्टले बताए । 

ट्रमा सेन्टरको भवन निर्माण भएको भएपनि सञ्चालनमा भने आउन नसकेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । ट्रमा सेन्टर कसले सञ्चालन गर्ने भन्ने बिषयमा समेत अन्यौल रहेको उनले बताए । संघ र प्रदेश सरकारलाई बारम्बार जनशक्ति र उपकरणका लागि आग्रह गरेको भएपनि सुनुवाई हुन नसकेको उनले बताए । उनले भने ‘संघीय सरकार र पाटन नगरपालिकाको लगानीमा भवन निर्माण कार्य सम्पन्न भएको छ । आवश्यक उपकरण र जनशक्तिको अभावमा सञ्चालन भएको छैन् ।’

ट्रमा सेन्टर कसले सञ्चालन गर्ने भन्ने बिषयमा स्पष्ट व्यवस्था नहुँदा समस्या भएको बताइन्छ । ट्रमा सेन्टर कसले सञ्चालन गर्ने र कसको मातहत रहने स्पष्ट नभएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । संघीय सरकारको लगानीमा भवन निर्माण भएको र अहिले आधारभूत स्वास्थ्य सेवा स्थानीय सरकार मातहत रहेकाले कसले सञ्चालन गर्ने भन्ने बिषय स्पष्ट भइनसकेको उनको भनाइ छ । 

दुर्घटनाका घाइते तथा अन्य प्रकोपमा परेर घाइते भएकाहरुलाई तत्काल उपचारका लागि ट्रमा सेन्टरको स्थापना गरेकाले यसलाई यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update