Sagun Khabar
भारतमा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि झुलाघाट नाका उच्च सतर्कता 

बैतडी–भारतमा कोरोनाको नयाँ भेरियन्ट भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका उच्च सतर्कता अपनाइएको छ । सीमा नाकामा रहेको हेल्थ डेस्कबाट नियमित रुपमा कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

भारतबाट फर्कने लक्षण देखिएका नागरिकको एन्टीजेन विधिबाट नियमित कोरोना परीक्षण भइरहेको उनले बताए । रुघाखोकी लागेका तथा अन्य लक्षण देखिएकाहरुको नियमित रुपमा कोरोना परीक्षण गर्ने गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

स्वास्थ्य मन्त्रालयले पनि सीमा नाकामा उच्च सतर्कता अपनाउन भनेको र कसैको पोजीटिभ रिपोट आएमा जिन सिक्वेन्सिङका नमुना पठाउन भनेकाले सीमा नाकामा उच्च सतर्कता अपनाइएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले जानकारी दिए । 

सीमा नाका झुलाघाटमा परीक्षण कार्यलाई व्यवस्थित बनाउनका लागि जिल्लामा सरोकारवाला निकायहरुसँग छलफल भएको सूचना अधिकारी लेखकले जानकारी दिए । 

बैतडीमा अहिले सम्म पिसीआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ३ हजार ७४५जनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । कोरोनाबाट बैतडीका २४ जनाको मृत्यु भएको केन्द्रको विवरणमा उल्लेख छ । 

सीमा नाका झुलाघाटमा अहिले सम्म २४ हजार ५२२ जनाको कोरोना परीक्षण गरिएकोमा ४ सय ६७ जनामा कोरोना देखिएको थियो । 

बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले भारतमा कोरोना संक्रमण फैलिँदै गएपछि सीमा क्षेत्रमा सतर्कता अपनाइएको हो । 
 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update