बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं ४ स्थित भौनेली स्वास्थ्यचौकीले आफ्नो सेवा क्षेत्रभित्रका घरघरमै पुगेर नसर्ने रोगका बिरामीहरुको खोजी गर्न थालेको छ ।
नसर्ने रोगका बिरामीहरुको जोखिम बढ्दै गएपछि जनचेतना फैलाउन र बिरामीहरुलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न बिरामी खोज्ने अभियान शुरु गरिएको स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्र महराले जानकारी दिए । उनले भने ‘हामीले स्वास्थ्यचौकीकातर्फबाट घरघरमा पुगेर नसर्ने रोगका बिरामीहरुको खोजी गरिरहेका छौं । नसर्ने रोगका बिरामीहरु पत्ता लगाएर उनीहरुलाई उपचारमा ल्याउने प्रयास गरिरहेका छौं ।’
पालिकाभित्रको उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा रहेको स्वास्थ्यचौकीले सेवा क्षेत्रभित्रका जेष्ठ नागरिक लगायतलाई लक्षित गरेर यो अभियान सञ्चालन गरेको जनाएको छ ।
सुगर, प्रेसर, दम लगायतका नसर्ने रोगहरुको जोखिम बढीरहेका बेला यस्ता रोगहरुबाट बच्ने उपायका साथै रोग लागिसकेकाहरुलाई उपचारमा ल्याउनका लागि अभियान सञ्चालन गरिएको स्वास्थ्यचौकी प्रमुख महराले बताए ।
दैनिक खानपीन, जीवनशैली लगायतका कारणले नसर्ने रोगहरुको जोखिम बढ्दै गएपछि पालिकाभरी नै नसर्ने रोगका बिरामीहरुको खोजी अभियान शुरु गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
प्रत्येक स्वास्थ्यचौकीमा सुगर, प्रेसर,दम लगायतका बिरामीहरुको स्क्रिनिङका लागि आवश्यक सामग्रीहरु पठाएको र स्वास्थ्यचौकीमार्फत घरघरमै पुगेर बिरामी खोज अभियान सञ्चालन भएको महराले बताए ।
गाउँपालिकाका ८ ओटै वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट घरघरमा स्वास्थ्यकर्मी खटाएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
नसर्ने रोगहरु जनस्वास्थ्यको समस्याको रुपमा देखिन थालेकाले पालिकाले यो अभियान सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख महराको भनाइ छ ।




