Sagun Khabar
बैतडीको मेलौलीमा बँदेलको आक्रमणबाट एकजना घाइते 

बैतडी –बैतडीको मेलौलीमा जंगली बँदेलको आक्रमणबाट एक जना घाइते भएका छन् । मेलौली नगरपालिका –२ का अन्दाजी ३५ बर्षीय रामबहादुर चन्दलाई जंगली बँदेलले आक्रमण गरी घाइते बनाएको हो । 

चन्दलाई बुधबार साँझको समयमा गाउँमै पसेको बँदेलको बथानले आक्रमण गरेको बताइएको  छ । स्यालढुंगा भन्ने गाउँमा जंगली बँदेलको बथान आएको र चन्दको बँदेलको आक्रमणबाट घाइते भएका स्थानीयहरुले बताएका छन् । 

बँदेलको आक्रमणबाट घाइते भएका चन्दको खुट्टामा गहिरो घाउ छ भने शरीरका अन्य भागमा समेत चोट रहेको छ । घाइते चन्दको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि डडेल्धुरा अस्पताल पठाइएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए ।  

घाइते चन्दको डडेल्धुरामा पनि उपचार हुन नसकेपछि कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको मेलौली नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्णदत्त भट्टले बताए । चन्दलाई बुधबार राति नै धनगढी लगिएको र सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले बताए । 

बैतडीका गाउँगाउँमा जंगली बँदेलको आतंक रहेको छ । जंगली बँदेलले बालीनाली नष्ट गर्दा किसानहरु हैरान भएका छन् । 

पछिल्लो समयमा दिउँसोको समयमा समेत जंगली बँदेलहरु गाउँमा पस्न थालेका स्थानीयहरुको भनाइ छ । मानिसमाथि आक्रमण हुन थालेपछि स्थानीयबासिन्दाहरु त्रसित भएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update