बैतडी–बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीको सरुवा भएको छ । उनको बैतडीकै सिगास गाउँपालिकामा सरुवा भएकोे हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अवस्थीलाई सिगास गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको हो ।
२०७९ माघ २५ गते सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका अवस्थीको झण्डै एक बर्षमा सरुवा भएको छ । सुर्नयामा रहँदा आफूले सके अनुसार राम्रो काम गर्ने प्रयास गरेको प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताए ।
यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुर्नयामै छदाँ समेत सिगास र डिलाशैनीको कामकाज गर्ने जिम्मा अवस्थीलाई दिएको थियो ।
सिगास गाउँपालिका गएको असोजदेखि नै प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको थियो । अवस्थीको सिगासमा सरुवा भएसंगै गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाएको छ ।
यता सुर्नया गाउँपालिका भने तत्कालका लागि प्रमुख प्रशासकीय अधिकृत विहिन भएको छ ।




