Sagun Khabar
बैतडीमा विद्यालय दिवा खाजा कार्यक्रमको अनुगमन गरिँदै 

बैतडी –बैतडीका विद्यालयहरुमा सञ्चालनमा रहेको दिवा खाजा कार्यक्रमको अनुगमन थालिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले दिवा खाजा कार्यक्रमको अनुगमन गर्न थालेको हो । 

विद्यालय दिवा खाजा कार्यक्रमका बिषयमा गुनासो आएपछि अनुगमन शुरु गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख ललित कठायतले जानकारी दिए । मन्त्रालय  र विभागको निर्देशन अनुसार दिवा खाजा कार्यक्रमको अनुगमन शुरु गरिएको उनले बताए । 

अहिलेसम्म जिल्लाको दशरथचन्द नगरपालिकाभित्रका दिवा खाजा कार्यक्रम सञ्चालनमा रहेका ६ ओटा विद्यालयको अनुगमन गरिएको कठायतले बताए । 

अनुगमनका क्रममा विद्यालयहरुमा तालिका अनुसार दिवा खाजाको प्रबन्ध गरिएको पाइएको उनले बताए । हरेक दिन फरक फरक प्रकारको खाजा दिने गरेको पाइएको खाद्य अनुसन्धान अधिकृत कठायतले बताए । 

अनुगमनका क्रममा खाजाको गुणस्तर,मात्रा र प्रकार लगायतका कुराहरु हेरिएको बताइएको छ । जिल्लाभरी दिवा खाजा कार्यक्रम सञ्चालनमा रहेका विद्यालयहरुमध्ये केही विद्यालयहरुमा अनुगमन गर्ने कार्यक्रम रहेको छ । 

सकेसम्म जिल्लामा रहेका १० ओटै स्थानीय तहका दिवा खाजा कार्यक्रम सञ्चालनमा रहेका केही विद्यालयहरुमा अनुगमन गर्ने कार्यक्रम रहेको खाद्य अनुसन्धान अधिकृत कठायतले बताए । 
 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update