Sagun Khabar
पुर्चौंडीमा स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र स्थापना 

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिकामा स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र स्थापना गरिएको छ । विपद् व्यवस्थापन ऐन अनुसार नगरपालिकामा स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले बताए । 

विपद्सम्बन्धीका सूचनाहरुलाई एकद्वारा प्रणालीमार्फत सत्यतथ्य सम्प्रेषण गर्न सहज होस् भनेर केन्द्र सञ्चालनमा ल्याइएको उनले बताए । 

पालिकाका कुनै पनि क्षेत्रमा भएका विपद्का घटनाहरुको आधिकारिक सूचना संकलन र व्यवस्थापनका लागि स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत कुँवरले बताए । 

वडाबाट प्राप्त सूचनाहरुलाई एकीकृत गरी जिल्ला विपद् व्यवस्थापन समितिका केन्द्रले पठाउने उनले बताए । 

स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्रको उद्दघाटन कार्यक्रममा नगरपालिकाका प्रमुख दिपकबहादुर बम, उपप्रमुख मीना धानुक, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहरा लगायतको उपस्थिती रहेको थियो । 

पुर्चौंडीमा सञ्चालनमा ल्याइएको स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्रको सम्पर्क व्यक्तिमा प्रवीन धानुकलाई तोकिएको छ । नगरपालिकाका १० ओटै वडाका वडासचिवहरुलाई केन्द्रमा राखिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update