बैतडी–बैतडीको दशरथचन्द नगरपालिका १ स्थित मणिलेक मावि गुरुखोलाको ६७ औं बार्षिकोत्सव विभिन्न सांस्कृतिक कार्यक्रमका साथ शुक्रबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर टेरको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी प्रमुख अतिथी रहेका थिए । यस्तै नगरपालिकाकी उपप्रमुख कौशिला चन्द बिशिष्ट अतिथी रहेकी थिइन् । बार्षिकोत्सव समारोहमा वडा नं १ का वडा अध्यक्ष विष्णुदत्त भट्ट, स्थानीय अभिभावक, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
बार्षिकोत्सव समारोहमा विद्यालयका सहायक प्रधानाध्यापक हर्कबहादुर धामीले गत आर्थिक बर्षको २ करोड १५ लाख ३ हजार ३०५ रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
बार्षिकोत्सव समारोहमा विद्यालयमा सञ्चालन भएका विभिन्न प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको विद्यालयका शिक्षक धिरबहादुर मडैले बताए । यस्तै नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएर पदक जितेका विद्यार्थीहरुलाई नगद पुरस्कारसहित विद्यालय पोशाक वितरण गरिएको शिक्षक मडैले बताए ।
यस्तै विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई बार्षिकोत्सवको अवसरमा पुरस्कृत गरिएको थियो । कक्षा १२ सम्मको पढाई हुने मणिलेक मावि गुरुखोलामा साढेचार सय विद्यार्थी अध्ययनरत रहेका छन् ।




