Sagun Khabar
शोभा मावि देउमडाको बार्षिकोत्सव सम्पन्न 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–१ स्थित शोभा मावि देउमडाको ६७ औं बार्षिकोत्सव विविध सांस्कृतिक कार्यक्रमका साथ शुक्रबार सम्पन्न भएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर चन्दको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी प्रमुख अतिथी रहेका थिए । 

यस्तै समारोहमा वडा नं १ का वडा अध्यक्ष बिशिष्ट अतिथी रहेका थिए । बार्षिकोत्सव समारोहमा स्थानीय शिक्षाप्रेमी अभिभावक, शिक्षक विद्यार्थी लगायतको सहभागिता रहेको थियो । 

समारोहमा विद्यालयका प्रधानाध्यापक जनकबहादुर मडैले १३ लाख बढीको आयव्यय विवरण प्रस्तुत गरेका थिए । 
बार्षिकोत्सव समारोहमा विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार वितरण गरिएको शिक्षक दिपेन्द्रप्रसाद भट्टले बताए । 

बार्षिकोत्सवको अवसरमा विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार २० जना छात्रछात्राहरुलाई झोला, कापी, कलमसहितका शैक्षिक सामग्री उपलब्ध गराइएको छ । उक्त सामग्री विद्यालयका पूर्व विद्यार्थी सुरेशबहादुर चन्दले उपलब्ध गराएका शिक्षक भट्टले बताए । उनी अहिले अमेरीकामा बस्दै आएका छन् । 

यस्तै स्वर्गीय अधिवक्ता लोकेन्द्रबहादुर चन्दका परिवारले बार्षिकोत्सवमा सहभागीहरुलाई मिष्ठान वितरण गरेका थिए । स्वर्गीय चन्दको स्मृतिमा उनका परिवारले मिष्ठान उपलब्ध गराएको शिक्षक भट्टले बताए । 

कक्षा १० सम्म पढाई हुने शोभा माविमा झण्डै २ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।  
 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update