बैतडी–बैतडीको डिलाशैनी गाउँपालिकाले गर्भवती महिलाहरुका लागि निशुल्क अल्ट्रासाउण्ड शिविर सञ्चालन गर्ने भएको छ । यही पौष १६ गतेदेखि ७ ओटै वडाका स्वास्थ्य संस्थाहरुमा शिविर सञ्चालनको तयारी भएको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य शाखा सहसंयोजक पुरुषोत्तम नाथ योगीले जानकारी दिए ।
शिविरका लागि डा. प्रदीप गुरुङको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टोली खटिने योगीले बताए । गर्भावस्थामा हुन सक्ने जटीलताहरुलाई समयमा नै पत्ता लगाएर मातृ तथा शिशु मृत्यु रोक्नका लागि निशुल्क अल्ट्रासाउण्ड शिविर सञ्चालन गर्न लागिएको सहसंयोजक योगीले बताए ।
पौष १६ गते वडा नं १ स्थित बरम आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन हुनेछ भने पौष १७ गते वडा नं २ स्थित कोटपेटरा स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुनेछ । यस्तै पौष १८ गते वडा नं ३ स्थित रुद्रेश्वर स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुनेछ भने पौष १९ गते वडा नं ४ स्थित डडिया आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन हुनेछ ।
यस्तै पौष २० गते वडा नं ५ स्थित पूजारीगाउँ सामुदायिक स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन हुनेछ भने पौष २१ गते वडा नं ६ स्थित हाडाकोट स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुनेछ ।
यस्तै पौष २२ गते वडा नं ७ स्थित नुवाकोट सामुदायिक स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन हुने डिलाशैनी गाउँपालिकाले जनाएको छ ।
गर्भावस्थामा आमाहरुलाई विभिन्न खालका जटीलता हुन सक्ने र त्यस्ता जटीलताहरु समयमै पत्ता लगाएर सुविधा सम्पन्न अस्पतालमा रेफर गर्न सहज होस भनेर निशुल्क अल्ट्रासाउण्ड शिविर सञ्चालन गर्ने गरिएको योगीले बताए ।
अल्ट्रासाउण्डबाट आमा र पेटभित्रको बच्चाको स्वास्थ्य अवस्थाको बारेमा थाहा हुने भएकाले शिविरमा आइ सेवा लिन समेत सबैलाई आग्रह गरिएको डिलाशैनी गाउँपालिकाले जनाएको छ ।
हरेक बर्ष गर्भवती आमाहरुका लागि निशुल्क अल्ट्रासाउण्ड शिविर सञ्चालन हुँदै आएको स्वास्थ्य शाखा सहसंयोजक योगीले बताए ।





